विश्व अनिश्चित दिशामा जाँदैछः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)
वि.सं.२०७६ चैत १५ शनिवार ०९:२०
1.8K
shares
एजेन्सीः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको महामारीले विश्वको भविष्य अनिश्चित बन्दै गएको बताएको छ । विश्वका धेरै देशमा यो महामारीको भर्खर सुरुवात मात्रै भएको भन्दै डब्ल्यूएचओले बेलैमा सतर्कता नअपनाए स्थिति भयावह दिशातर्फ उन्मुख भएको चेतावनी दिएको हो ।
डब्ल्यूएचओका आपत्कालीन अवस्था सम्बन्धी शीर्ष विज्ञ डा. माइक रायनले जेनेभामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विश्वका धेरै देशमा यो महामारी चक्रको सुरुवात मात्रै भएको बताएका हुन् । ‘केही देश (चीन, सिंगापुर) यो महामारीको चक्रबाट गुज्रिएका छन्,’ उनले भने, ‘यी देशमा रोग पुनः नफैलियोस् भन्ने हाम्रो चाहना छ ।’
कोरोना भाइरस संक्रमणबाट शनिबार बिहानसम्म विश्वमा मृत्यु हुनेको संख्या २७ हजार नाघिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट विश्वभर ३ हजार २ सय ६८ जनाको मृत्यु भएको हो । यो संख्या एकै दिन मृत्यु भएको अहिलेसम्मकै ठूलो संख्या हो ।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर २७ हजार ३ सय ४३ पुगेको छ । यसैगरी कोरोना भाइसबाट अहिलेसम्म ५ लाख ९६ हजार २१ संक्रमित भइसकेका छन् । यस्तो अवस्थामा संक्रमितको जीवन रक्षाका लागि दिनरात खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पीपीई (सुरक्षा पोसाक) को अभाव गम्भीर बनेको पनि डब्ल्यूएचओले चेतावनी दिएको छ ।
वि.सं.२०७६ चैत १५ शनिवार ०९:२०



















