एसियन गेम्समा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने, पहिलो पटक महिला भलिबल र फुटबलमा सहभागी हुँदै

वि.सं.२०७९ वैशाख १० शनिवार ०८:०६

काठमाडौं: नेपालले आसन्न एसियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले एसियन गेम्समा सहभागी हुने खेलको टुङ्गो लगाएको हो ।
नेपालको राष्ट्रिय महिला भलिबल टोली र महिला फुटबल टोलीले पहिलोपटक एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउने भएका छन् ।
राखेपको शुक्रबार बसेको १ सय १२औं बोर्ड बैठकले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म चीनको हाग्ंजोउ शहरमा आयोजना हुने १९औं एसियाडमा महिला भलिबल टोली र महिला फुटबलसहित २३ खेल सहभागी गराउने निर्णय गरेको छ ।
बैठक स्रोतका अनुसार तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसले आसन्न एसियन गेम्समा सहभागी हुने भएका छन् ।
यसअघि पुरुष भलिबल टोली र फुटबल टोलीले एसियाडमा भाग लिइसकेका छन् । यसपटकको फुटबल र भलिबलका पुरुष टोलीले एसियाड खेल्ने छैनन् ।
महिला भलिबलका लागि यो नै अब सबैभन्दा ठुलो प्रतियोगिता हुनेछ । महिला भलिबल टोलीले पाँचपटक दक्षिण एसियाली खेलकुद (साग) खेल्दा एकमा रजत र चारपटक कास्यपदक जितेको छ । दुईपटक सेन्ट्रल जोन खेल्दा दुवैपटक अपराजित रहेर च्याम्पियन बनेको थियो ।
नेपालले सन् २०१७ माल्दिभ्समा भएको वुमन्स वल्ड एसियन सेन्ट्रल जोन क्वालिफायर पनि खेलेको छ । यस्तै विभिन्न आधिकारिक र मैत्रीपूर्ण खेल पनि खेलेको छ ।
पुरुष भलिबल टोलीले ३२ वर्षपछि सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा प्रतिस्पर्धा गर्दा १५औं स्थान हासिल गरेको थियो । त्यतिबेला पुरुष भलिबलमा २० राष्ट्रको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ वैशाख १० शनिवार ०८:०६