ग्लोबल आईएमई बैंकमा ६ जना नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा चन्द्रप्रसाद ढकाल

वि.सं.२०७७ पुस २९ बुधवार १५:५२
1.4K
shares
काठमाडौं: ग्लोबल आईएमई बैंकमा ६ जना नयाँ सञ्चालक समिति चयन भएको छ ।
बैंकको आज भएको वार्षिक साधारणसभाले सर्वसम्मत रुपमा ६ जना संचालक चयन गरेको हो ।
साधारणसभाले सर्वसम्मतिमा संस्थापकबाट चन्द्रप्रसाद ढकाल, रामबहादूर भण्डारी र क्याविनेट श्रेष्ठलाई संचालक समितिमा चयन गरेको हो । यसैगरी सर्वसाधारण सेयरधनीको तर्फबाट कृष्णप्रसाद शर्मा, दिपक शर्मा पोखरेल र सुदर्शन कृष्ण श्रेष्ठलाई चयन गरेको हो ।
नयाँ सञ्चालक समिति चयन लगत्तै बसेको संचालक समितिको बैंठकले सर्वसम्मतिमा बैंकको अध्यक्षमा पुनः चन्द्रप्रसाद ढकाललाई नै चयन गरेको छ ।
बैंकको अध्यक्षमा पुनः चयन भएका अध्यक्ष ढकालले आजै नेपाल राष्ट्र बैंक पुगेर गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनिएताको सपथ लिएका छन् । कार्यक्रममा नवनिर्वाचित सदस्यहरुले पनि पद तथा गोपनिएताको सपथ लिएका छन् ।
यसैगरी आज भएको साधारणसभाले सेयर धनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ । जस अनुसार सेयरधनीले १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश पाउनेछन् ।
बैंकको १४ औं वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताए ।
बैंकले संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित गरिएको ढकालले जानकारी दिए ।
साबिकको जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबै भन्दा ठूलो र सबल बैंक बनेको बताउँदै, उनले सेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वि.सं.२०७७ पुस २९ बुधवार १५:५२