नेपाल बैंक लिमिटेडको खुद नाफा घट्यो
वि.सं.२०७७ कात्तिक १६ आइतवार १२:२५
काठमाडौं: नेपाल बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकले पहिलो त्रैमासमा आर्जन गरेको नाफा गत वर्षको तुलनामा ३ करोड १४ लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा बढेपनि बैंकले डिफर्ड ट्याक्स (स्थगित कर) तिर्दा बैंकको नाफा घटेको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमाएको कर अघिको नाफा गत वर्ष तुलनामा बढी भए पनि यस अवधिमा बैंकले बढी कर तिर्नु पर्दानाफा घटेको हो ।
बैंकले यस अवधिमा २० करोड १६ लाख वर्तमान कर तिरेको छ भने २ करोड ९३ लाख स्थगित कर तिरेको छ । पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १९ करोड ६४ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष यस्तो आम्दानी झण्डै १६ करोड रुपैयाँले बढाएको हो ।
बैंकको गत वर्षको तुलनामा अन्य सञ्चालन आम्दानी ४ करोड १० लाखबाट बढेर ५ करोड १ लाख रुपैयाँ पुगेको छ । बैंकको कर्मचारी खर्च ६७ करोड रुपैयाँबाट घटेर ६५ करोड रुपैयाँमा झरेको छ भने अन्य सञ्चालन खर्च १९ करोडबाट घटेर १७ करोडमा झरेको छ । गत वर्षको तुलनामा बैंकको खराब कर्जा २.७५ प्रतिशतबाट बढेर ३.०२ प्रतिशत पुगेको छ ।
बैंकको पूँजीकोष अनुपात १७.०३ प्रतिशत रहेको छ भने सीसीडि रेसियो ६६.५४ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकको आधार दर ६.८१ प्रतिशत छ भने स्प्रेड दर ४.३८ प्रतिशत छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात १६.६० गुणा छ ।
वि.सं.२०७७ कात्तिक १६ आइतवार १२:२५