कृषकका लागि आधुनिक शीतभण्डारको निर्माण कार्य सुरु
वि.सं.२०७७ असोज ९ शुक्रवार १८:४५
2.5K
shares
काठमाडौं: बागमती प्रदेश सरकारले प्रदेशको विभिन्न १२ स्थानमा आधुनिक शीतभण्डारको निर्माण कार्य सुरु गरेको छ ।
कृषकले उत्पादन गरेको तरकारी खेर जान नदिन तथा उत्पादित वस्तुको उचित मूल्य प्रदान गर्न बागमती प्रदेश अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेक अन्य १० वटा जिल्लामा यहि आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी आधुनिक शीतभण्डार स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ ।
शीतभण्डार निर्माणका लागि प्रदेश सरकारको ७० र स्थानीय सहकारीको ३० प्रतिशत लागत रहने छ । शीतभण्डार निर्माणको ६४ करोड लागत अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, चितवन, दोलखा, रामेछाप, सिन्धुलीमा शीत भण्डारण गृह निर्माण गर्न लागेको हो । अहिले चितवन र धादिङको शीतभण्डार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
किसानहरुको मनोबल बढाउन तथा कृषि उपजमा पनि विशेष गरी तरकारी तथा फलफूल जन्य वस्तुको उत्पादन बढाइ उत्पादन नहुने बेमौसममा पनि यस्ता वस्तुको उपलब्धता गराइ राख्न प्रदेश सरकारले यो परियोजन अघि सारेको हो ।
‘ड्रिम प्रोजेक्ट’का रुपमा सबै जिल्लामा निर्माण सम्पन्न भए पश्चात कुल १७ हजार ५ सय मेट्रिक टन क्षमताको शीतभण्डार बागमती प्रदेशमा रहने मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ असोज ९ शुक्रवार १८:४५



















