फेसबुक कसैले खोलिरहेको छ भने यसरी लगआउट गर्नुहोस्
वि.सं.२०७६ फागुन १९ सोमवार १०:३८
1.4K
shares
साइबर क्याफे वा अरू कसैको डिभाइसमा लगइन गरेको आफ्नो फेसबुक अकाउन्ट लग आउट गर्न बिर्सनुभयो भने त्यसको नतिजा दुखद् पनि हुनसक्छ । तपाईंको फेसबुक कुनै अनधिकृत व्यक्तिले चलाउने, दुरूपयोग गरी विभिन्न अनावश्यक पोष्टहरू गर्ने तथा पासवर्ड पत्ता लगाएर ह्याक गर्ने जोखिम पनि हुन्छ ।
कहिलेकाहीँ तपाईंले लगआउट गर्न भुलेको तपाईंको फेसबुक अकाउन्ट अर्को मान्छेले चुपचाप हेरिरहेको र तपाईंको जासूसी गरिरहेको पनि हुनसक्छ । यस्तो डरबाट मुक्त हुन चाहनुहुन्छ भने तपाईंले फेसबुकमा रहेको एउटा फिचरको सहयोग लिन सक्नुहुन्छ ।
उक्त फिचरको सहयोगले तपाईंले कहाँ-कहाँ आफ्नो फेसबुक लगइन गर्नुभएको छ र कुन डिभाइसमा अहिले सम्म पनि लगआउट भएको छैन भन्ने थाहा पाउन सक्नुहुन्छ । साथै एक क्लिकमै ती सबै डिभाइसबाट आफ्नो फेसबुक अकाउन्ट लगआउट पनि गर्न सक्नुहुन्छ ।
यसको उपाय यस प्रकार छः
- स्मार्टफोनमा रहेको फेसबुक एपमा आफ्नो फेसबुक लगइन गर्नुहोस् र सेटिंग्समा जानुहोस् ।
- त्यहाँ रहेको सेक्योरिटी अप्सनमा जानुहोस् र त्यसभित्र रहेको सेक्योरिटी एण्ड लगइन नामक अप्सनमा ट्याप गर्नुहोस्
- त्यहाँ तपाईंले Where you are logged in नामक खण्ड देख्नुहुनेछ । त्यसमा तपाईंले आफ्नो फेसबुक लगइन भएका सबै डिभाइसको सूचि देख्नुहुनेछ ।
- यदि ती डिभाइसमध्ये कुनै डिभाइसमा तपाईंको फेसबुक अहिलेपनि लगआउट भएको छैन अर्थात् एक्टिभ छ भने त्यहाँ रहेका तिनवटा थोप्लाको चिन्हमा ट्याप गरी एक एक गरेर लगआउट गर्न सक्नुहुन्छ ।
- यदि सबै डिभाइसमा एकैचोटी फेसबुक लगआउट गर्न चाहनुहुन्छ भने Log out of all sessions अप्सन छान्न सक्नुहुन्छ ।
डेस्कटपका लागिः
- वेब ब्राउजरमा फेसबुक खोलेर आफ्नो अकाउन्टमा लगइन गर्नुहोस् ।
- टप ब्यानरमा रहेको ड्रपडाउन एरोमा क्लिक गरी Settings अप्सनमा जानुहोस् ।
- सेटिंग्स पेजभित्र बायाँ भागमा Security and Login अप्सनमा क्लिक गर्नुहोस् ।
- त्यसपछि Where you are logged in खण्डमा क्लिक गर्नुहोस् जहाँ तपाइँको फेसबुक अकाउन्ट लगइन भएका सबै डिभाइसको सूचि देखिन्छ ।
- ती सबै डिभाइसबाट तपाइँले एकएक गरी वा एकैपटक लगआउट गर्न सक्नुहुन्छ ।
वि.सं.२०७६ फागुन १९ सोमवार १०:३८



















