नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्ने सरकारको तयारी, औपचारिक घोषणा भने हुन बाँकी
वि.सं.२०७६ फागुन १९ सोमवार ०७:४४
1.5K
shares
काठमाडौं: सरकारले नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्ने तयारी गरेको छ । दुबै कार्यक्रम स्थगित गर्नेबारे आइतबारको मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भएपनि औपचारिक घोषणा भने हुन बाँकी छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष स्थगित गर्ने विषयमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेका थिए । कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि नेपाललाई उच्च जोखिममा राखेपछि सरकारले शनिबार मात्र उच्च सतर्कता अपनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति नै बनाएको थियो ।
यस्तै आइतबार नै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरेको थियो । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा कोरोना भाइरसको विश्वव्यापी प्रभाव तथा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट गर्नुपर्ने रोकथाम एंव पूर्वतयारीका कार्य सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो ।
नेपालको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि लिनुपर्ने तत्कालीन नीति तथा कार्यक्रमको सम्बन्धमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयले एक हप्ताभित्र संक्षिप्त प्रतिवेदन तयार गरी पेश गर्न निर्देशन दिइएको छ ।
वि.सं.२०७६ फागुन १९ सोमवार ०७:४४



















