शहरी विकास राज्यमन्त्री मानन्धर नियुक्त भएको सय दिनको यात्रा पुरा {विस्तृत जानकारी सहित}
वि.सं.२०७६ फागुन १८ आइतवार १७:१०
1.5K
shares
काठमाडौं: सरकारले लिएको ‘समृद्ध नेपाल: सुखी नेपाली’ को राष्ट्रिय संकल्पसहितको महाअभियान अन्तर्गत शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले नियुक्त भएको सय दिनको यात्रा पुरा गरेको अवसरमा आफुले गरेको प्रयास र हाल भईरहेको योजना र भविष्यमा हुने योजनाका बारेमा विस्तृत रुपमा जानकारी गराएका छन् ।
विस्तृत जानकारीः
- काठमाडौं उपत्यकाको फोहर दिर्घकालिन व्यवस्थापनका लागि निर्माणाधिन नुवाकोट र धादिङको सीमानास्थित बन्चरे डाँडा स्यानेटरी ल्याण्डफिल्ड साईटको निर्माणलाई तिब्रता दिन पुस १८ गतेपछि पटक-पटक स्थलगत अनुगमन गरिएको छ । अनुगमनका साथै निर्माण कार्यलाई तिब्रता दिन आवश्यक निर्देशन र बजेट व्यवस्थापनमा सहजीकरण गरिएको छ । यस्तै फोहर व्यवस्थापनमा अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगसँगै फोहरलाई छुट्याउने/उर्जा र प्रांगारिक मल उत्पादन गर्ने र नसड्ने फोहरलाई भट्टीमा जलाई निस्किएको धुलोबाट निर्माण सामग्री जस्तै: ईटा/ ब्लक/टायल लगायत निर्माण सामग्री बनाउन सकिने बहुउद्देश्यीय र बहुउपयोगी प्रविधि भित्र्याउनेबारे छलफल अगाडी बढाइएको छ । बन्चरे डाँडामा आगामी नयाँ वर्षदेखि फोहर विसर्जन गर्नेगरी कामलाई तिब्रता दिन आवश्यक व्यवस्था मिलाइएको छ ।
- आधुनिक युग र प्रविधिको विकाससँगै सबैको चाहना अनुरुपको स्वच्छ, सुन्दर र व्यवस्थीत शहरीकरणको विकासका लागि काठमाडौं उपत्यकाको तीनै जिल्लामा निर्माणाधिन चार नयाँ सहरहरुको डिपीआर लगायत प्राविधिक पक्षहरुको अध्ययन चालु अवस्थामा छ । ति शहर निर्माण आरम्भ गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिईएको छ ।
- काठमाडौं उपत्यकाको जनघनत्व कम गर्नका लागि उपत्यकासँगै जोडिएका जिल्लाहरुमा नयाँ शहर निर्माण थालनि गर्नका लागि सम्बन्धित पक्षहरुसँग निरन्तर छलफलमा जुटीरहेका छौं । बृहत्तर राजधानी अवधारणामा रहेर काठमाडौं उपत्यकाको नजिक बैकल्पिक सहर निर्माणको लागि प्रस्तावित टोखा-छहरे सुरुङ मार्गसँगै छहरेदेखि नुवाकोटको थानसिंह, ढिकुरे, गँगटेहुँदै देबीघाट, रातमाटेहुँदै गल्छीसम्म र थानकोट- नौविसे निर्माणाधिन सुरुङ मार्गको नौविसेदेखि गल्छिसम्मको भू-भागमा सुविधासम्पन्न नयाँ सहर निर्माणका लागि बृहत्तर छलफल अगाडी बढाएका छौं । नुवाकोटको छहरेदेखि धादिङको गल्छिसम्मको करीव ३५ किलोमिटर र धादिङको गल्छिदेखि नुवाकोटको चाउथे-बन्चरेहुँदै काठमाडौंको तीनपिप्ले-बालाजु जोड्ने करिब ३० किलोमिटर सहित जम्मा ६५/७० किलोमिटरको उपत्यकालाई उत्तरतर्फको बाहिरी जिल्लाबाट घेर्ने बैकल्पिक राजमार्ग चक्रपथ निर्माणका लागि सम्बन्धित पक्षसँग (सम्बन्धित जिल्लाका संघीय र प्रदेश सांसदका साथै स्थानीय तहका जनप्रतिनिधिहरुसँग समेत) समन्वय गर्दै निरन्तर छलफल भइरहेको छ । उक्त राजमार्गमा रहनेगरी नयाँ शहर निर्माणका लागि सम्बन्धीत जिल्लाका सांसद स्थानीय तहका जनप्रतिनिधिहरुसँगको छलफलको क्रममा रहेको छ ।
- काठमाडौं उपत्यकाको जनचापको समुचित व्यवस्थापनको लागि उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्नेगरी विभिन्न दस स्थानमा थप नयाँ शहर निर्माणका लागि छलफल थालिएको छ । नुवाकोटको छहरे-थानसिंह, बट्टार-बिदुरदेखि बेत्रावतीसम्मको त्रिशूली उपत्यका, बेत्रावतीदेखि जिपजिपे, धुन्चे र रसुवाको टिमुरेसम्मको हिमाली सहर, नुवाकोटको गँगटे-पिपलटार-बुहुनीबेसी-देबीघाट-महादेवफाँट-गल्छी नयाँ सहर र गल्छिदेखि नुवाकोटको चाउथेहुँदै बन्चरेडाँडा-तीनपिप्ले नयाँ शहर निर्माणका लागि सरोकारवालासँग बृहत्तर योजनासहित गहन छलफल थालनी भएको छ । धादिङको नौबिसे-गल्छी, मकवानपुरको इन्द्रसरोबर, सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती उपत्यका, दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित गरेर बृहत्तर शहर निर्माणसँगै बृहत्तर राजधानीको विकास, प्रदूषणमुक्त राजधानी बनाउने परिकल्पना सहित छलफल आरम्भ गरीएको छ । यस्तै धादिङको सल्यानटारमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणपछिको अवस्थाको परिकल्पनासहित १७ किलोमिटरको पर्यटकीय तथा विश्वविद्यालयसहितको शैक्षिक शहर निर्माणका लागि आवश्यक छलफल थालनि गरिएको जानकारी गराउँदछौं ।
- बाराको जितपुर सिमरा उपमहानगरपालिकामा चक्रपथ निर्माणका लागि आवश्यक छलफल थालिएको छ । गोरखाको मनकामना जाने सडक मार्ग स्तरोन्नती गर्नेको लागि पहल भएको छ ।
- तनहुँको ब्यास-देवघाट-कालीगण्डकी करिडोरहुँदै दामोदरकुण्डसम्मको ८ सय किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माणबारे आवश्यक अध्ययन गर्न मन्त्रालयस्तरबाट आवश्यक छलफल थालनीमा रहेको जानकारी गराउँदछौं ।
- काठमाडौं उपत्यकासहित देशका मुख्य मुख्य सहरहरुमा देखिएको अव्यवस्थित पार्किङको समस्या समाधानका लागि पहल थालिएको छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउनका लागि सरोकारवालासँग पटक पटक छलफल गर्दै गुरुयोजनाको परिकल्पना गरिएको छ । काठमाडौं उपत्यकाको अव्यवस्थित पार्किङको समस्या दिर्घकालिन रुपमा समाधानका लागि लैनचौर, नारायणहिटी दरबार क्षेत्र, भृकुटीमण्डप, विष्णुमति, बागमति, धोविखोला करिडोरमा व्यवस्थित पार्किङ स्थल निर्माणका लागि आवश्यक छलफल प्रक्रियाको थालनी गरिएको छ ।
- काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउनका लागि आवश्यक विभिन्न सामग्रीहरु हस्तान्तरण गराईएको छ ।
- कलंकिदेखि चाबहिलसम्म निर्माणाधिन चक्रपथ विस्तारलाई ट्राफिक मैत्री बनाउन आयोजना निर्माण पक्ष र सो सँग सम्बन्धित पक्षहसँग आवश्यक सुझाव संकलन गरी कार्य अगाडी बढाउन छलफललाई तिब्रता दिईएको छ । अण्डरपास, फ्लाई ओभर, सुरुङ लगायतका प्राविधिक विषयको सुझाव संकलन थालिएको छ ।वागमतीमा मिसिने चक्रपथ अन्तर्गत शाखा नदीहरुको प्राकृतिक वहाव व्यवस्थापन पक्षबारे छलफल थालिएको छ ।
- काठमाडौं उपत्यकाका भित्री सहरका सडकहरुको मर्मत सम्भार, खाल्डाखुल्डी पुर्ने लगायत अन्य व्यवस्थापकिय कार्यलाई तिब्रता दिन सरोकारवाला निकायसँग निरन्तर छलफल, अनुगमनसहित आवश्यक निर्देशन र कार्यान्वयनमा तिब्रता दिइएको छ ।
वि.सं.२०७६ फागुन १८ आइतवार १७:१०



















