थाईलाण्डमा ज्योमो गाङ फिल्म अवार्ड सम्पन्न, ‘खै ओ मिथेबा’ उत्कृष्ट चलचित्र
वि.सं.२०७६ माघ १२ आइतवार १८:०३
1.2K
shares
काठमाडौं: नेपालको आदिबासी जनजाति चलचित्रको प्रबर्द्धन गर्ने उदेश्यले थाईलाण्डमा गत बुधबार साँझ ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि हुकुम मल्टिमिडिया प्रा.लि.द्वारा थाईलाण्डमा अवार्ड कार्यक्रमको आयोजना गरेको हो । द सिसन होटल पटैयामा सम्पन्न अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले नेपालको मौलिकपन आदिबासी जनजाति चलचित्रमा रहेको हुँदा देश बिदेशमा आदिबासी जनजाति चलचित्रलाई प्रबर्द्धन गर्ने यस्ता प्रकृतिको कार्यक्रमहरु आयोजना हुनु आवश्यक रहेको बताए । साथै आदिबासी जनजाति चलचित्रले नेपालको पर्यटन प्रबर्द्धनमा बिशेष योगदान पुर्याउने विश्वास समेत ब्यक्त गरे ।
हुकुम मल्टिमिडिया प्रा.लिको अध्यक्ष डि. बि. बम्जनको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, युरो एसिया ग्योबलको प्रबन्ध निर्देशक सुमन अधिकारी, आदिबासी जनजाति चलचित्र महासंघका महासचिब पुर्खाजित राई लगायत बिभिन्न क्षेत्रका व्यक्तिहरु र चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा ज्योतिराज राई, पुस्कर लामा र छुल्ठिम गुरुङ रहेको निर्णायक समितिबाट छनौट गरिएको ‘खै ओ मिथेबा’ उत्कृष्ट चलचित्र भयो भने उत्कृष्ट निर्देशक चलचित्र ‘भेडी गोठाले’ बाट गणेश गरुङ (सुबास), उत्कृष्ट अभिनेता चलचित्र ‘देन्बा माया’ बाट अमिर दोङ, उत्कृष्ट अभिनेत्री चलचित्र ‘छार ग्यालाम’ बाट सुनिता लुम्बा, उत्कृष्ट खलपात्र चलचित्र ‘ल्हुइ ह्रो’ बाट ध्रुब सिंह तामाङ, उत्कृट नब अभिनेता चलचित्र ‘मोङा डोङा २’ बाट यमन माझी, उत्कृष्ट नब अभिनेत्री चलचित्र ‘यारी’ बाट ज्योती राई, सह अभिनेता चलचित्र ‘घ्रान’ बाट राम घिसिङ, उत्कृष्ट सह अभिनेत्री चलचित्र ‘ल्हुई ह्रो’ बाट सन्च कुमारी तामाङ, उत्कृष्ट नब निर्देशक चलचित्र ‘मारक्यु’ बाट दिनेश गुरुङ, उत्कृष्ट सम्पादन चलचित्र ‘निप्हुगाल’ बाट सर्बमान शाक्य, उत्कृष्ट लेखन चलचित्र ‘कर्मक्या’ बाट शंकर गुरुङ (बतासे) उत्कृष्ट छाँयाङ्कन चलचित्र ‘स्वयनगुः’ बाट लुःजः सिं, उत्कृष्ट द्धन्द निर्देशक चलचित्र ‘बज्र’ बाट सुरज श्रेष्ठ, उत्कृष्ट पार्श्व संगीत चलचित्र ‘म्ये क्यु’ बाट शिब मुखिया सुनुवार र उत्कृष्ट बाल कलाकार चलचित्र ‘क्युई’ बाट कुङगा छ्योइङ स्याङतान तामाङलाई अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी बेष्ट पपुलर अभिनेता सबिन श्रेष्ठ र नव प्रतिभा पुरुस्कार रिया गुरुङलाई प्रदान गरिएको थियो । चलचित्र बिकास बोर्ड र आदिबासी जनजाति चलचित्र महासंघको सहकार्य रहेको कार्यक्रमलाई मरिण गाँउपालिका सिन्धुली, राईडर सेवा प्रा. लि.को सहयोग रहेको थियो ।
वि.सं.२०७६ माघ १२ आइतवार १८:०३



















