आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन
वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३
147
shares
काठमाडौ: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरको जित निकाल्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । निर्धारित र थप गरिएको समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
जितसँगै सन् २०१६ देखि २०१८ सम्म रियल म्याड्रिडले लगातार उपाधि जितेयता च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पीएसजी पहिलो क्लब बनेको छ । ११ दिन अघि मात्र २२ वर्षपछि प्रिमियर लिगको उपाधि जितेर उच्च मनोबलमा रहेको आर्सनलले खेलको सुरुआतमै अग्रता लिएको थियो । छैटौँ मिनेटमा काई हाभर्टजले उत्कृष्ट गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । यो गोलसँगै हाभर्टज दुई फरक क्लबबाट च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने इतिहासकै चौथो खेलाडी बनेका छन् ।
आर्सनलको मजबुत रक्षापंक्तिले पहिलो हाफभर पीएसजीका स्टार खेलाडी खिचा कभारात्स्केलिया र मिडफिल्डलाई रोकेको थियो । पहिलो हाफमा पीएसजीले ३२ पटक आक्रमण गर्दा आर्सनलले मात्र ३ पटक प्रयास गरेको थियो । तर, खेलको ६५औँ मिनेटमा आर्सनलका क्रिस्टियन म्याक्वेराले पेनाल्टी बक्सभित्र कभारात्स्केलियालाई लडाएपछि पीएसजीले पेनाल्टीको अवसर पायो । जसलाई ओस्मान डेम्बेलेले सहजै गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
त्यसपछि दुवै टोलीले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल हुन सकेन र खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टी सुटआउटमा आर्सनलका एबेरेची एजे र ग्याब्रिएलले गोल गर्न सकेनन् । ग्याब्रिएलको अन्तिम प्रहार क्रसबार भन्दा माथिबाट बाहिरिएपछि पीएसजीको जित पक्का भएको थियो ।
पीएसजीका लागि लुकास बेराल्डोको पेनाल्टी प्रहार निर्णायक बन्यो । आर्सनलले यस सिजनको च्याम्पियन्स लिगमा निर्धारित समयभित्र कुनै पनि खेल नहारी उपविजेतामा चित्त बुझाउनु पर्यो । पीएसजीका मुख्य प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा क्लबले खेलेका सबै ६ वटा पेनाल्टी सुटआउटमा जित हासिल गरेको छ । ५६ वर्षीय एनरिकेले आफ्नो प्रशिक्षण करियरमा खेलेका १३ वटा वान–अफ (एक खेलको फाइनल) मध्ये १२ वटामा उपाधि कीर्तिमान समेत बनाएका छन् ।
वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३




















