उपाधि छिनोफानोका लागि नेपाल र बङ्गलादेशबीचको खेल आज
वि.सं.२०८२ साउन ५ सोमवार ०६:५४
2K
shares
काठमाडौं: साफ महिला यू-२० च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदै छ । यो दुईबीचको खेल आज साँझ पौने ७ बजे ढाकामा हुनेछ । उपाधि विजेताको छिनोफानो यी दुई टिमबिच हुने अन्तिम खेलबाट हुने भएको छ ।
प्रतियोगितामा हालसम्म सर्वाधिक ३० गोल गरिसकेको नेपालले लिग चरणमा घरेलु टोली बङ्गलादेशसँग बेहोरेको हारको बदला मैदानमै फर्काउन योजनामा रहनेछ । चार टिम सम्मिलित यस प्रतियोगिता डबल लिगका आधारमा भइरहेको छ । त्यसैले यस प्रतियोगितामा फाइनलको प्रावधान छैन । दोहोरो लिगपछि अङ्क तालिकाको शीर्ष स्थानमा रहने टिमलाई च्याम्पियन घोषित गरिने छ । जुन उपाधि होडमा अब बङ्गलादेश र नेपाल मात्र बाँकी छ ।
भुटान र श्रीलङ्का उपाधि होडबाट बाहिरिसकेका छन् । नेपाल पहिलो पटक र बङ्गलादेश लगातार दोस्रो पटक साफ यू–२० उपाधि जित्ने अभियानमा रहेको छ । अन्तिम खेलमा घरेलु टोली बङ्गलादेश केही फाइदामा छ । बङ्गलादेशले पाँच खेलबाट १५ र नेपालले चार खेलबाट १२ अङ्क बनाएका छन् । घरेलु मैदानको फाइदा र समर्थकको ऊर्जामा खेल्ने बङ्गलादेशलाई बराबरीले पनि च्याम्पियन बनाउने छ ।
नेपाललाई भने जितले मात्र उपाधि दिलाउने छ । गोल अन्तर बङ्गलादेशको भन्दा राम्रो रहेकाले नेपाललाई बढी गोल गरेर खेल जित्नुपर्ने दबाब भने छैन । नेपाली युवा महिला फुटबल टोली लयमा पनि छ । यस प्रतियोगितामा नेपालले भुटानलाई ६–१ र ८–० तथा श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।
नेपालकी दुई स्ट्राइकर पूर्णिमा राई र मीना देउवा सानदार गोलको लयमा छन् । पूर्णिमाले १० गोलसहित प्रतियोगिताकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । मीना ७ गोलसहित दोस्रो स्थानमा छन् । यी दुवैले दुई/दुई ह्याट्रिक गरिसकेकी छन् । यसैगरी कुसम खतिवडा तथा समीक्षा मगरले तीन/तीन तथा सेनु परियार, सरिता कुमारीले दुई/दुई गोल गरेका छन् । अनिशा राई र कप्तान बिर्सना चौधरीको नाम पनि गोलकर्ताको सूचीमा छ । बङ्गलादेशी खेलाडी पनि लयमा छन् । बङ्गलादेशकी सागोरिका, शान्ति मार्डी र तृष्णारानीले सर्वाधिक चार/चार गोल गरेका छन् ।
वि.सं.२०८२ साउन ५ सोमवार ०६:५४




















