उपाधि भिडन्त आज, सङ्कटा र बागमती उपाधि जोगाउने दाउमा
वि.सं.२०८१ माघ १७ बिहीवार ०९:५३
1.5K
shares
काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी पहिलो संस्करणको सभापति कप फुटबलको फाइनल खेल आज हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५:३० बजे सुरु हुने खेलमा ‘ए’ डिभिजन क्लब सङ्कटा र आयोजकले बनाएको लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती)बीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
नकआउट प्रतियोगिताको सेमिफाइनलमा सङ्कटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८-७ गोल र बागमतीले एनआरटीलाई टाई ब्रेकरमा ४-२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
माघ १० गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहको थियो । पहिलो संस्करणको उपाधि विजेताले २६ लाख र उप-विजेताले १३ लाख रुपैयाँ नगद पाउने छन् । यो नेपाली नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशी हो ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताउँदै उपाधि जित्ने दाबी गरेका छन् । आयोजक नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले बुधबार सहिद दिवसको अवसरमा सहिद गेटमै ट्रफी सार्वजनिक गरेको थियो ।
यस्तै प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपियाँ प्रदान गरिने महाधिवेशन निर्देशन समितिका संयोजक मोहन बहादुर बस्नेतले जानकारी दिए ।
फाइनल खेलका विजेता र उप-विजेतालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुरस्कार वितरण गर्ने छन् भने फाइनल अघि झाँकी पनि प्रस्तुत गरिने तयारी छ ।
वि.सं.२०८१ माघ १७ बिहीवार ०९:५३




















