मेसीले जिते एमएलएसकै ‘मोस्ट भ्याल्युएबल’ प्लेयरको अवार्ड
वि.सं.२०८१ मंसिर २३ आइतवार ०८:२८
1.4K
shares
एजेन्सीः लिओनल मेसीले मेजर लिग सकर (एमएलएस) कै ‘मोस्ट भ्याल्युएबल’ प्लेयरको अवार्ड जितेका छन् । जुलाई २०२३ मा इन्टर मायमी पुगेका उनले नियमित सिजनमा कीर्तिमान ७४ अंक दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
मायमीको पहिलो उपाधिको रुपमा स्पोर्ट्स शिल्ड जिते पनि उनको टिम गत नोभेम्बरमा एमएलएस कप प्लेअफको पहिलो चरणमै पराजित भएको थियो । ३७ वर्षीय मेसीले सर्वाधिक ३६ गोलको योगदान गरे, जसमा २० गोल गरे भने १६ गोलमा असिस्ट गरे । चोटका कारण लिगमा मायमीको लागि १९ खेल र प्लेअफमा दुई खेल मात्रै खेलेर पनि मेसीले एमएलएसकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका हुन् ।
उनी एमएलएसमा एक सिजनमै कम्तीमा २० गोल र १५ असिस्ट गर्ने तेस्रो खेलाडी हुन् । यसअघि सन् २०१९ मा लस एन्जलसका कार्लोस भेलाले ३४ गोल र १५ असिस्ट तथा २०१५ मा टोरोन्टोका सेवास्टिन जियोभिन्कोले २२ गोल र १६ असिस्ट गरेका थिए । यो अवार्डमा विजेताको घोषणा खेलाडी, टेक्निकल स्टाफ र पत्रकारको मतबाट छनोटबाट गरिन्छ । यसमा मेसीले ३८.४३ प्रतिशत मत पाए भने कोलम्बस क्र्युका कुचो हर्नान्डेजले ३३.७ प्रतिशत मत पाए ।
पोर्टल्यान्ड टिम्बर्सका मिडफिल्डर इभान्डार, डीसी युनाइटेडका क्रिस्टियन बेन्टेके, इन्टर मायमीमा मेसीका सहकर्मी लुइस सुआरेज पनि प्रतिस्पर्धामा थिए । यसअघि यो अवार्ड अमेरिकाका पूर्वफरवार्ड ल्यान्डन डोनभान, आयरल्यान्डका रोबी किन, स्पेनका डाभिड भियाले पनि जितेका थिए । मेसीको लागि यो अर्को एक व्यक्तिगत सफलता हो । उनले बालोन डि’ओर ८ पटक, फिफा बेस्ट प्लेयर ८ पटक, स्पेनिस ला लिगाका सर्वोत्कृष्ट खेलाडीको अवार्ड ७ पटक, युइएफए प्लेयर अफ द इयर, च्याम्पियन्स लिगका सर्वोत्कृष्ट खेलाडी, विश्वकप, क्लब विश्वकपलगायतमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितिसकेका छन् ।
वि.सं.२०८१ मंसिर २३ आइतवार ०८:२८




















