नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित
वि.सं.२०८० चैत ९ शुक्रवार ०७:४४
1.6K
shares
काठमाडौं: फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ ।
नेपाल खेलको पहिलो हाफमै ३ गोलले पछि परेको थियो । खेलको दोस्रो हाफमा थप २ गोल खान पुग्यो । बहराइनका माहदी हुमैदान, सायद बकेर, अली मदान, इब्राहिम अल-खताल र अब्दुल लतिफले गोल गरे । खेलको दोस्रो मिनेटमै माहदी हुमैदानले बहराइनलाई शुरूआती अग्रता दिलाए । त्यसको ७ मिनेटपछि नै सायद बकेरले बहराइनको अग्रता दोब्बर बनाए । खेलको ८७औँ मिनेटमा इब्राहिम अल-खतालले गोल गरे । दोस्रो हाफमा थप गरिएको समयको छैटौँ मिनेटमा अब्दुल लतिफले पेनाल्टीबाट गोल गर्दै नेपाललाई ५-० गोल अन्तरले पराजित गर्यो ।
समूह ‘एच’ मा रहेको नेपालले ‘होम एन्ड अवे’का आधारमा हुने छनोट अन्तर्गत यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने थियो । तर, दशरथ रंगशालको मैदानको स्तर राम्रो नभएकोले नेपालले ‘होम म्याच’ बहराइनमै खेलेको हो । यस्तै, नेपालले चैत्र १३ गते ‘अवे’ म्याच पनि बहराइनमै खेल्नेछ । नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गरेको हो ।
बहराइनसँग खेल्नुअघि नेपालले मलेसियासँग अभ्यास खेल खेलेको थियो । युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ५-१ गोल अन्तरले पराजित भएको थियो । नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन् । नेपाल पहिलो खेलमा यूएईसँग ४-० र दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले पराजित भएको थियो । यस समूहमा शतप्रतिशत जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ। यूएईले ३ खेलबाट ९ अंक जोडेको छ ।
यूएईसँग २-० गोल अन्तरले पराजित भएको बहराइनको समान खेलबाट ६ अंक छ । बहराइनले यमनलाई २-० गोल अन्तरले पराजित गरेको थियो । यमन ३ खेलमा ३ अंकसहित तालिकामा तेस्रो स्थानमा छ । नेपालभने जितविहीन र अंकविहीन रहेको छ ।
वि.सं.२०८० चैत ९ शुक्रवार ०७:४४



















