अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि ‘इ-क्यूआरटी’ परिचालित
वि.सं.२०८० फागुन २४ बिहीवार १२:२०
1.8K
shares
काठमाडौं: उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जीपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम ‘इ–क्यूआरटी’ परिचालन सुरु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउनका लागि ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणा अन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्वीक रेस्पोन्स’ गर्न इ–क्यूआरटी परिचालन गरेको हो ।
पहिलो चरणमा काठमाडौं जिल्लाभरिका ६० टिमलाई डिजिटल प्रविधिसहित परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर तथा मातहत वृत्त/प्रभागबाट जीपीएस प्रणालीद्वारा प्रहरीको क्वीक रेस्पोन्स टिमलाई सम्बन्धित घटना घटेको स्थानमा यथाशीघ्र पुग्ने वातावरण निर्माण गर्न २४सै घण्टा प्रहरी नियन्त्रण कक्षबाट ‘ट्रयाकिङ’ गर्न सकिनेगरी विद्युतीय प्रणाली जडान गरिएको छ ।
टोली घटनास्थलमा पुग्नासाथ घटनास्थलको यथार्थ विवरणसहित प्रहरी काम कारबाही र पीडित वा सेवाग्राहीसँग गरेको व्यवहारको समेत स्वचालितरूपमा नियन्त्रण कक्षमै रेकर्ड हुने तथा नियन्त्रण कक्षबाट समेत क्यूआरटी टिमको गतिविधि तथा घटनास्थलको बारेमा लाइभ हेर्न सक्ने गरी ६० क्यूआरटीको शरीरमा क्यामरासमेत थप गरिएको छ । उनीहरू पहिलो रेस्पोन्स गर्ने टोलीको रूपमा २४सै घण्टा फिल्डमा परिचालन हुनेछन् । उनीहरूमार्फत प्रहरीको कारबाहीलाई शीघ्र, चुस्त एवं प्रभावकारी बनाउनका लागि टोलीलाई जीपीएस ट्र्याकिङ डिभाइस, भिडियो क्यामेरा, रेडियो सेट, बत्तीसहितको साइरनलगायत अन्य सुरक्षा सामग्रीसहित खटाइएको छ ।
वि.सं.२०८० फागुन २४ बिहीवार १२:२०




















