संघीय संसद् अन्तर्गत दुवै सभाको बैठक आज बस्दै
वि.सं.२०८० फागुन १४ सोमवार ०९:३८
1.5K
shares
काठमाडौं: संघीय संसद् अन्तर्गत दुवै सभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ११ बजेर १ मिनेटमा शुरु हुनेछ ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची छ । यसपछि राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने र ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा अर्थिक वर्ष २०८१\०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।
राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । यस्तै विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९\८० सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व को अवस्था अध्ययन प्रतिवेदन, २०८०’ पेश गर्नेछिन् । बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८१\०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची पनि छ ।
वि.सं.२०८० फागुन १४ सोमवार ०९:३८


















