आजदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चिनकालका लागि बन्द, ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध
आन्दोलनको पहिलो दिन बुधबार ७० हजारको हाराहारीमा शिक्षकहरु सडक आन्दोलनमा उत्रिएका थिए
वि.सं.२०८० असोज ४ बिहीवार ०९:४६
3K
shares
काठमाडौं: नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालय आजदेखि बन्द हुने भएको छ । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि विद्यालय बन्द हुँदा देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने भएको हो ।
शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो । आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहने महासंघले जनएको छ । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाएर पनि परिपूर्ति गर्ने महासंघले जनाएको छ ।
शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन् । संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ ।
आन्दोलनको पहिलो दिन बुधबार ७० हजारको हाराहारीमा शिक्षकहरु सडक आन्दोलनमा उत्रिएका थिए । आज पनि बिहान १० बजे माइतीघरमा जम्मा भएर नयाँबानेश्वरसम्म नारा जुलुसहित विरोध जनाउने महासंघले जानकारी दिएको छ । आफ्नो माग सम्बोधन हुने प्रत्याभूतिसहितको समिति बनाए मात्रै वार्तामा जाने महासंघले बताएको छ ।
शिक्षक आन्दोलनका कारण विद्यार्थी मारमा पर्ने भएका कारण स्थानीय तहहरूले चासो दिन थालेका छन् । केही पालिकाले भने विद्यालय बन्द गरेर आन्दोलनमा गए शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी नै दिएका छन् ।
संविधानको धारा ३४ मा मौलिक हक अन्तर्गतको श्रमको हकको व्यवस्था छ । धारा ३४ (३)मा प्रत्येक श्रमिकलाई कानून बमोजिम ट्रेड युनियन खोल्ने त्यसमा सहभागी हुने तथा सामुहिक सौदाबाजी गर्न पाउने हक हुनेछ, भनिएको छ । यही प्रावधान अनुसार आफ्ना माग लिएर संघर्षमा उत्रिएकाले स्थानीय सरकारले संविधानले दिएको हक खोस्न नपाउने महासंघको तर्क छ ।
वि.सं.२०८० असोज ४ बिहीवार ०९:४६




















