एसियाकप खेल्न सन्दीप लामिछाने पाकिस्तान जाने
वि.सं.२०८० भदौ ७ बिहीवार १२:४८
2.6K
shares
काठमाडौं: क्रिकेटर सन्दीप लामिछाने आइतबार पाकिस्तान जाने भएका छन् । उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आइतबारका लागि तोकिए पनि त्यो दिन सुनुवाइ हुने सम्भावना कम भएपछि उनलाई आइतबार पाकिस्तान पठाउने तयारी भएको हो ।
सन्दीपका कानुन व्यवसायीले आइतबार मुद्दा सुनुवाइ हुने सम्भावना कम भएकाले सन्दीपलाई आइतबार बेलुका पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराइसकेका छन् ।
आइतबार मुद्दाको पेसी तोकिएको छ । तर आठौं नम्बरमा भएकाले सुनुवाइको पालो आउने सम्भावना कम छ । सुनुवाइ भएपनि त्यसै दिन बहस सकिँदैन । यसअघि पनि न्यायाधीशले एकै दिनमा सुनुवाइ नसकिने भएकाले हेर्दाहेर्दैमा नराखी हेर्न नभ्याइने जनाएका थिए ।
यसअघि जिल्ला अदालतमा पेसी तोकिए पनि न्यायाधीशले सन्दीपविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीकी आमाको उमेर विवादित देखिएकाले एकिन गर्न आदेश दिएका थिए । पर्साको नारायणी अस्पतालले किशोरी र उनकी आमाको जन्ममिति प्रमाणित गरेर पठाइसकेको छ ।
राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य भने भदौ ५ गते नै पाकिस्तान पुगिसकेका छन् । सन्दीप भने मुद्दाको सुनुवाइको पेसी रहेकैले टोलीसँग पाकिस्तान गएका थिएनन् ।
एसियाकपको उद्घाटन खेल भदौ १३ गते पाकिस्तान र नेपालबीच मुल्तान क्रिकेट स्टेडियममा हुनेछ । त्यसपछि भारतविरुद्ध खेल्न नेपाल श्रीलंका प्रस्थान गर्नेछ । भारत र नेपालबीचको खेल भदौ १८ गते हुनेछ ।
वि.सं.२०८० भदौ ७ बिहीवार १२:४८




















