नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै
वि.सं.२०७९ पुस १० आइतवार ११:०१
1.6K
shares
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी छन् ।
राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै गर्दा सत्ता गठबन्धनमा भावी प्रधानमन्त्रीका लागि अझैसम्म टुंगो लाग्न सकेको छैन । भावी प्रधानमन्त्रीका लागि गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी छ ।
शनिबार अबेरसम्मको छलफलमा कांग्रेस र माओवादीले पहिलो कार्यकालको सरकार आफ्नै नेतृत्वमा बन्नुपर्ने दाबी गरेपछि सहमति जुटेन ।
राष्ट्रपतिले दिएको समयसीमाभित्र प्रधानमन्त्रीका लागि दाबी पेस नभए संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ ।
वि.सं.२०७९ पुस १० आइतवार ११:०१




















