यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जित्यो, सुजाता बनिन् साफको उत्कृष्ट गोलरक्षक
वि.सं.२०७९ कात्तिक २५ शुक्रवार २०:१५
3.6K
shares
काठमाडौं: बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ ।
शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।
नेपाली महिला फुटबलको उमेर समूहमा यो ऐतिहासिक उपाधि हो । नेपाली महिला टोलीको कुनैपनि उमेर समूहको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।
रोमान्चक खेलमा नेपालकी गोलकिपर तथा कप्तानी गरेका सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी बचाएपछि नेपाल च्याम्पियन बनेको हो ।
नेपाली टोलीकी गोलरक्षक सुजाता तामाङ महिला साफ यू१५ च्याम्पियनसिपको उत्कृष्ट गोलरक्षक चुनिएकी छिन् । शुक्रबार नेपाललाई अपराजित रहेर च्याम्पियन बनाउन सुजाताले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
तर, खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याईन् । त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो ।
बंगलादेशकी बीबी रिताको पेनाल्टी गोलकिपर सुजताले उत्कृष्ट बचाउ गरिन् । त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिदा नेपाल च्याम्पियन बनेको हो ।
बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै नेपालले उपाधि उचाल्न सफल भयो ।
बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो । भुटान अंक विहीन रहदै घर फर्कियो । प्रतियोगितामा नेपाल, भुटान र बंगलादेशको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार २०:१५



















