भिरबाट लडेर एक सैनिकको मृत्यु
वि.सं.२०७९ साउन २७ शुक्रवार ०९:३६
1.6K
shares
हुम्ला : कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका १ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ ।
नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भिरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो । त्यस्तै भिरबाट लडेर एक जना घाइते भएका छन् ।
कर्णाली करिडोर निर्माणका क्रममा भिर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा बिहीबार चिप्लिएर लामिछानेको मृत्यु भएको हो ।
सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियारको भनाइ छ । घाइते विष्ट र लामिछानेको शव हेलिकप्टरमार्फत बिहीबार नै सुर्खेत लगिएको छ ।
टाउकोमा चोट लागेका विष्टको नेपालगञ्जस्थित सैनिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
वि.सं.२०७९ साउन २७ शुक्रवार ०९:३६




















