आईसीसी महिला टी-20 विश्वकप एसिया छनोटमा हङकङसँग नेपाल ६ विकेटले पराजित
वि.सं.२०७८ मंसिर ६ सोमवार १६:०३
3.2K
shares
काठमाडौं: आईसीसी महिला टी-20 विश्वकप एसिया छनोट अन्तर्गत हङकङविरुद्धको खेलमा ६ विकेटले पराजित भएको छ ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभरमा पुरा गर्यो ।
हङकङका लागि मारिको हिलले सर्वाधिक ४४ रनको योगदान गरिन् ।
कप्तान केरी चनले १७ तथा नताशा माइल्सले १६ रन जोडिन् । इमा लाईले १३ रन जोड्दा शनजिन शहजाद ७ तथा यासमिन दासवानी २ रनमा आउट भए ।
नेपालका लागि कविता कुँवर, सबनम राई र सीता राना मगरले समान एक–एक विकेट हात पारे ।
पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १०४ रन जोडेको थियो ।
नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् ५८ बलको सामना गर्दा सीताले चार चौका प्रहार गरिन् ।
उनले नवौं ओभरमा रुचिता भेङकटेसलाई लगातार तीन चौका प्रहार गरेकी थिईन् ।
इन्दु बर्माले अविजित ३१ रन जोडिन् उनले ३६ बल खेल्दा तीन चौका प्रहार गरिन् ।
काजल श्रेष्ठले २४ बल खेल्दै केवल ४ रन जोडिन् । उनी क्यारी चनको बलमा मारिको हिलबाट क्याच आउट भइन् ।
ओपनर कविता कुँवर पहिलो ओभरको दोस्रो बलमै आउट भइन् । बेट्टी चनले कवितालाई मारिको हिलबाट क्याच आउट गराएकी थिइन् ।
हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक–एक विकेट हात पारे ।
नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्नेछ ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १६:०३



















