सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आर्मी र पुलिसले खेले बराबरी
वि.सं.२०७८ मंसिर ६ सोमवार १६:२३
2.2K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको विभागीय डर्बीमा नेपाल आर्मी र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाढेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न लिग चरणको आफ्नो पहिलो खेलमा आर्मी र पुलिसले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले एक एक गोल गर्यो ।
खेलको ५१औं मिनटमा सन्तोष हेमरामले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तेज तामाङको फ्रिकिकमा उनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ६१औं मिनटमा आर्मीका खेलाडी विवेक बस्नेतले गोल गर्दै खेललाई एक-एकको बराबरीमा फर्काएका थिए ।
निक्कै नै प्रतिस्पर्धात्मक बनेको खेलमा त्यसपछिका बाँकी समयमा दुवै टोलीले गोलका लागि राम्रा मौकाहरु पाएका थिए ।
पाएका अवसर सदुपयोग गर्नबाट चुकेपछि दुवै टोली बराबरी खेल्दै अंक बाँढ्न बाध्य बन्यो ।
बराबरीसँगै लिगको आफ्नो पहिलो खेलबाट दुवै टोलीले एक-एक अंक जोडेको छ ।
१४ टोलि सहभागित रहेको जारी लिगको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुनेले ५० लाख तथा तेश्रोले २५ लाख नगद प्राप्त गर्नेछ ।
गत संस्करण रेलिगेशनविना भएको लिगमा यसपटक अंकतालिकाको पुछारमा रहने दुई टोलि रेलिगेट हुँदै बी डिभिजनमा घटुवा हुनेछ ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १६:२३



















