सहिद स्मारक ‘ए’ डिभिजन लिग आजबाट सुरु हुँदै, उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स भिड्दै
उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने
वि.सं.२०७८ मंसिर ३ शुक्रवार ०९:५१
2.6K
shares
काठमाडौं: त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ ।
उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र फ्रेन्ड्सबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।
सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो । ‘बी’ लिगको उपाधि जित्दै सातदोबाटो यसै वर्ष शीर्ष लिगमा बढुवा भएको हो ।
सातदोबाटो मेघराज केसीको प्रशिक्षणमा मैदान उत्रदैछ । डेब्यु लिगमा सातदोबाटो उत्कृष्ट नतिजा ल्याउने योजनामा रहेको छ ।
फ्रेन्ड्सले लामो समयबाट लिग खेल्दै आएको छ । तर, फ्रेन्ड्सले लिगको उपाधि भने जित्न सकेको छैन । फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र प्रसाद मिश्रले सातदोबाटोविरुद्धको खेल कठिन हुने बताएका छन् ।
कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् ।
अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो । यस पटकको लिग विजेताले ७५ लाख पाउने छन् । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् ।
वि.सं.२०७८ मंसिर ३ शुक्रवार ०९:५१



















