काठमाडौं महानगरपालिकाले घर बहाल करको दर तोक्ने
वि.सं.२०७८ वैशाख २६ आइतवार १२:४२
2.4K
shares
काठमाडौं: काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ देखि घर बहाल करको दर तोक्न भएको छ । काठमाडौँमा घरभाडावापत कति कर तिर्ने भन्ने दर तोकिने भएको हो ।
काठमाडौंमा विभिन्न कामका लागि बाहिरि जिल्लाबाट आएर कोठा भाडामा बस्दै आएका नागरिकहरुबाट घरधनीहरुले आफूखुशी भाडा उठाएकोले यस्तो व्यवस्था गर्न लागेको महानगरपालिकाले जनाएको छ ।
महानगरको राजश्व परामर्श समितिबाट बहाल कर तोक्ने विषय पारित भईसकेको छ । कार्यपालिकाबाट पारित भएर आगामी नगरसभाबाट पास भएपछि महानगर क्षेत्रभित्र न्यूनतम बहाल कर लागू हुनेछ ।
सम्पत्ती करमा जग्गाको बाटो अनुसार तोकिने न्यूनतम दरलाई आधार बनाएर प्रतिस्क्वायर फिटको १५ रुपैयाँदेखि ४५ रुपैयाँसम्म बहाल कर तोक्ने तयारी भईरहेको महानगरपालिकाले जनाएको छ ।
घर भएका स्थान, सो क्षेत्रमा भएको सडकको चौडा र घरको तला अनुसार फरक फरक दर कायम हुनेछ । आवश्यक सबै अध्ययन गरेर वैज्ञानिक हिसाबले नै घर बहाल कर निर्धारण गर्न लागिएको र यसले घर धनीलाई करको दायरामा ल्याउने महानगरको विश्वास छ ।
अहिले काठमाडौँमा घरधनीले भाडामा बस्नेसँग लिने बहालको दर अनुसार राजश्व नबुझाउँदा महानगरले अपेक्षाकृत राजश्व संकलन गर्न नसकेको र महानगर क्षेत्रभित्रका आधा भन्दा बढी घरधनीले बहाल उठाएवापत कर नतिरेको महानगरको निष्कर्ष छ ।
आर्थिक वर्ष २०७६/७७ मा महानगरले एक अर्ब ७० करोड रुपैयाँ बहाल कर उठाएको थियो । चालु वर्षमा २ अर्ब उठाउने लक्ष्य भएपनि चैतसम्म लक्ष्यको ६० प्रतिशत मात्र बहाल कर उठेको छ । न्यूनतम बहाल कर तोकिएपछि ५ अर्ब रुपैयाँ बहाल कर उठ्ने दाबी महानगरको छ ।
घरधनीले कोठा, सटर तथा घर नै भाडामा लगाउँदा भाडामा लिनेसँग गर्ने सम्झौता हजारमा हुने तर लिने रकम चाहिँ लाख हुने भएकाले महानगरले सम्झौता अनुसारको बहाल कर लिनुपर्ने बाध्यता छ ।
सबैले भाडा लिने र देखाउने सम्झौता फरक–फरक हुने भएकाले घरधनीले भाडावालबाट लिएको रकम बराबरै राजश्व उठ्नेमा भने महानगर अझै विश्वस्त छैन । ठाउँ र बाटो अनुसार बहाल कर तोकेपछि अहिले उठिरहेको राजश्व बढ्ने दाबी महानगरको छ ।
यो पनि पढ्नुहोस् :
जन्मोत्सवको अवसरमा पत्रकार प्रकृतिले गरिन् आर्थिक सहयोग
वि.सं.२०७८ वैशाख २६ आइतवार १२:४२




















