पालिकाबाटै कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत गर्न सकिने नयाँ व्यवस्था
वि.सं.२०७७ माघ १० शनिवार १६:३४
1.7K
shares
काठमाडौं: नेपाल सरकारले पालिकाका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत पालिकाबाट गर्ने नयाँ व्यवस्था गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार पालिका समायोजन भएका र ऐनअनुसार पालिकामा नियुक्त भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत सम्बन्धित तहबाट गर्ने निर्णय गरेको हो ।
पालिकामा भएका कर्मचारीको राजीनामा स्वीकृत र अवकाशपत्रको स्वीकृत कार्यलाई सरलीकृत तथा पहुँचयोग्य बनाउन सम्बन्धित तहबाट नै गर्ने निर्णय गरिएको मन्त्रालयको पालिका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत नरेन्द्रप्रसाद न्यौपानेले बताए ।
उनका अनुसार गाउँपालिकाका पाँचौं र छैठौं तहसम्मका कर्मचारीका लागि राजपत्राङ्कित तृतीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्ने, गाउँपालिकाकै सातौं र आठौं तहसम्म कर्मचारीको सम्बन्धित गाउँपालिकाको राजपत्राङ्कित तृतीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले पेस गरी जिल्लाको राजपत्राङ्कित द्वितीय श्रेणीको जिल्ला समन्वय अधिकारीले गर्ने नयाँ व्यवस्था गरिएको छ ।
यस्तै नगरपालिकाको पाँचौंदेखि आठौं तहसम्मका कर्मचारीको राजीनामा र अवकाशपत्र राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्ने र सो नभएसम्म सम्बन्धित जिल्लाको राजपत्राङ्कित द्वितीय श्रेणीको जिल्ला समन्वय अधिकारीले गर्नेछन् ।
यसैगरी उपमहानगरपालिका र महानगरपालिकाको नवौं र दशौं तहसम्मका कर्मचारीको राजीनामा र अवकाशपत्र राजपत्राङ्कित प्रथम श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्नेछन् ।
पालिकामा तोकिएको दरबन्दीबमोजिमको कर्मचारी कार्यरत नरहेको अवस्थामा सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवले राजीनामा स्वीकृत गर्ने वा सङ्घीय मन्त्रालयबाट स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।
वि.सं.२०७७ माघ १० शनिवार १६:३४


















