देशभर आज एक साथ ४ सय ३ अस्पतालको शिलान्यास गरिँदै
वि.सं.२०७७ मंसिर १५ सोमवार ०८:३८
2.4K
sharesकाठमाडौं: आज देशभर एकसाथ ४ सय ३ वटा अस्पतालको शिलान्यास हुँदैछ ।
३ सय ९६ पालिकामा आधारभूत अस्पताल र सात वटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४ सय ३ अस्पताल भवनको शिलान्यास हुन लागेको हो ।
पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो ।
बजेट भाषणका क्रममा गरिएको घोषणा कार्यान्वयनका क्रममा सरकारले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ ।
सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले इलामका सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पताल भवनको शिलान्यास गर्नेछन् ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्नेछन् ।
सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा बमोजिम सातवटै प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल भवनको पनि शिलान्यास गर्नेछ ।
सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्यााउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो ।
७ सय ५३ पालिकामध्ये ६ सय ४९ पालिकामा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३ सय ९६ पालिकामा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।
प्रदेश नं १ मा ३२ पालिकामा, प्रदेश नं २ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ ।
वि.सं.२०७७ मंसिर १५ सोमवार ०८:३८




















