खोटाङ जिल्लाको दुई विमानस्थलमा शनिबारदेखि नियमित उडान
वि.सं.२०७७ असोज ८ बिहीवार १७:२१
2.1K
shares
काठमाडौं: सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल वायु सेवा निगमको हवाईजहाजले खोटाङ जिल्लाको मनमायाँ राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान भर्ने भएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थलमा हप्ताको दुई पटक बुधबार र शनिबार तथा जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थमा हप्ताको एक पटक बुधबार उडान भर्ने निगमले जनाएको छ ।
नियमित उडान हुने भएपछि वायु सेवा निगमले खानीडाँडा–काठमाडौँका लागि एकतर्फी भाडा प्रति व्यक्ति ४ हजार ७४० र थामखर्क विमानस्थलका लागि एकतर्फी भाडा प्रति व्यक्ति चार हजार ३८५ निर्धारण गरिएको निगमले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न यात्रुलाई लिन तथा लैजान प्रयोग गरिने सवारी साधनहरु गेट बाहिर राख्नु पर्ने, विमानस्थल हाताभित्र छिर्नुपूर्व यात्रुको ज्वरो नाप्ने तथा ब्यागेज निर्मलिकरण गर्नुपर्ने, टर्मिनल हल प्रवेश गर्नु अगाडि हात धोएको हुनु पर्ने, यात्रा अवधिभर आफूलाई चाहिने पानी, स्यानिटाइजर तथा जगेडा मास्क यात्रु आफैले बोक्नुपर्ने जनाइएको छ ।
वि.सं.२०७७ असोज ८ बिहीवार १७:२१



















