नेपालमा कोरोना संक्रमितको संख्या झन् झन् बढ्दै
वि.सं.२०७७ साउन १४ बुधवार २३:३४
2K
shares
काठमाडौं: सरकारले गत चैतबाट करिव चार महिना लागु गरेको लकडाउन हालसालै खुलाएसँगै कोरोना सङ्क्रमणको दर झन् झन् बढ्दै गएको पाईएको छ ।
लकडाउन खोल्नुअघिको लकडाउन खुल्नअघिको आठ दिनको अवधिमा कूल ३४ हजार ४ सय ५७ नमूना परीक्षण गर्दा १ हजार ४९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै लकडाउन खुलेको पछिल्ला आठ दिनमा ३४ हजार १ सय ९ नमूना परीक्षण गर्दा १ हजार २ सय ७९ जनामा कोरोना पुष्टि भएको छ ।
लकडाउन खुलेसँगै सबै सामान्यीकरणमा आएको उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोना अगाडिको जस्तै सामान्य जीवनमा फर्किएका रुपमा नबुझ्न आग्रह गरेका छन् ।
कोरोना भाइरसको जोखिमकै बीचमा काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले उचित जनस्वास्थ्य सावधानी अपनाउन अनुरोध समेत गरेका छन् । पछिल्लो केही दिनदेखि लगातार कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।
बुधबार सबैभन्दा बढी डोटीमा ५२ सङ्क्रमित फेला परेका छन् । त्यस्तै पर्सामा ३४, स्याङ्जामा २६, महोत्तरी र काठमाडौंमा १४ र १४, धनुषामा १२, मोरङ, कैलाली र कञ्चनपुरमा८-८ धादिङ र बागलुङमा ७-७, म्याग्दी, सप्तरी कपिलवस्तु र बैतडीमा २-२ तथा सुनसरी, सर्लाही, भक्तपुर, रौतहट, तनहुँ र सुर्खेतमा १-१ सङ्क्रमित थपिएका छन् ।
मुलुकभर अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २ सय ३ पुगेको छ । प्रदेश नं १ मा २ सय २६, प्रदेश नं २ मा एक हजार ९ सय ८२ वाग्मती प्रदेशमा ४ सय ८३, गण्डकी प्रदेशमा २ सय ८८, प्रदेश नं ५ मा ४ सय १, कर्णाली प्रदेशमा ३ सय २ र सुदूरपश्चिम प्रदेशमा एक हजार ५ सय २१ सक्रिय सङ्क्रमित छन् ।
रौतहट र कैलालीमा अझै पनि ५ सय बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । क्वारेन्टाइन रहनेको सङ्ख्या १४ हजार ४ सय ७१ पुगेको छ ।
नेपालमा हालसम्म १४ हजार २१ जना कोरोनालाई जितेर घर फर्केका छन् । प्रदेश नं १ मा ७ सय ८९, प्रदेश नं २ मा ३ हजार १८, वाग्मती प्रदेशमा ५ सय १८, गण्डकी प्रदेशमा १ हजार २ सय २७, प्रदेश ५ मा ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् ।
प्रदेश नं १ को भोजपुर र संखुवासभा, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित भेटिएका छैनन् ।
वि.सं.२०७७ साउन १४ बुधवार २३:३४




















