सक्रिय मनसुनका कारण देशभर ३३ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता, सचेत रहन जल तथा मौसम विभागको आग्रह
वि.सं.२०७७ असार २६ शुक्रवार १३:१०
1.5K
shares
काठमाडौं: पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुनका कारण देशभरका विभिन्न स्थानमा भारि वर्षासँगै बाढि र पहिरोको जोखिम बढेको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारणले देशभरि ३३ जनाले ज्यान गुमाएका छन् भने ठूलो मात्रामा जनधनको क्षति भएको छ ।
सिन्धुपाल्चोकस्थित भोटेकोशी र याल्मो नदीमा रातभरको वर्षाका कारण आएको बाढी-पहिरोले बाह्रबिसे ५ जम्बुका २ जनाको मृत्यु भएको छ भने १६ जना बेपता भएका छन्।
यस्तै लमजुङको बेंसीशहर नगरपालिका-७ स्थित सातविसेमा घरमाथिबाट झरेको पहिरोका कारण ३३ वर्षीय दीपक तामाङसहित तीन जनाको मृत्यु भएको छ भने तीन जान घाइते भएका छन् ।
म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् ।
कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । यसैगरी पर्वतको दुर्लुङमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ ।
रूकुम पश्चिमको आठबिसकोट- ३मा आएको पहिरोमा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले जमिन गलिसकेको हुँदा केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेकोका कारण सचेत रहन जल तथा मौसम विभागले आग्रह गरेको छ ।
वि.सं.२०७७ असार २६ शुक्रवार १३:१०




















