सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन, राति १० बजेदेखि बिहान ५ बजेसम्म पैदल हिँड्न र सवारी चलाउन बन्देज
वि.सं.२०७७ असार ५ शुक्रवार २२:३९
1.4K
shares
काठमाडौं: नेपाल सरकारले अत्यावश्यक सेवा बाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल हिड्न र सवारी सञ्चालनमा समेत राति रोक लगाएको हो ।
सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले रातिको समयमा एक जिल्लाबाट अर्को जिल्लामा अनुमतिबिना प्रवेश गर्नेको संख्या बढेसँगै सुरक्षा जाँचमा थप कडाई गर्न निर्देशन दिएको छ ।
कोरोना संक्रमण विरुद्ध स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘हेल्थ प्रोटोकल’को पूर्ण रुपमा पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गर्दै यसलाई व्यवस्थित गर्न सुरक्षा मापदण्ड जारी गर्न गृहलाई निर्देशन दिएको थियो । सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली कायम गरिएको छ ।
तोकिएको कार्यस्थलमा स्यानिटाइजर मास्क अनिवार्य प्रयोग गर्नुपर्ने छ । अनावश्यक काममा बाहिर आवतजावत नगर्न गृहमन्त्रालयले आग्रह गरेको छ । ‘विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने र अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्ने छ ।
मापदण्ड उल्लंघन गर्नेमाथि अत्यावश्यक सेवा ऐन २०१४, संक्रमक रोक रोकथाम तथा नियन्त्रण ऐन २०२०, मुलुकी अपराध संहिता २०७४, स्थानीय प्रशासन ऐन २०२८ र सरकारले जारी गरेका अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्न पनि निर्देशन दिइएको छ ।
यस्तै मालसामान ढुवानी गर्दा चालक र सहचालक बाहेक कसैलाई पनि बोक्न नपाइने व्यवस्था ल्याइएको छ । उद्योग/कलकारखाना लगायत कार्यस्थलमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन पाइने छैन ।
वि.सं.२०७७ असार ५ शुक्रवार २२:३९



















