क्यानद्वारा सम्झौतामा रहेका खेलाडीको तलब बढाउन प्रस्ताव
वि.सं.२०७७ जेठ २७ मंगलवार ०९:१३
1.7K
shares
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले सम्झौतामा रहेका खेलाडीको तलब बढाउन प्रस्ताव गर्ने निर्णय गरेको छ । क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग खेलाडीले प्राप्त गर्न बाँकी रकममा तलब बृद्धि गर्न माग गर्दै प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।
खेलाडीले पाउदै गरेको तलबमा १० हजार रुपैयाँ वृद्धि गर्न क्यानले प्रस्ताव गरेको छ । क्यानसँग सम्झौतामा रहेका खेलाडीले तीन तहमा तलब पाउँदै आएका छन् । गत शनिबार बसेको क्यानको कार्यसमितिको बैठकले आईसीसीसँग खेलाडीको तलब बृद्धि गर्न प्रस्ताव गर्ने निर्णय गरेको थियो ।
खेलाडीले लामो समयदेखि पाउँदै गरेको तलबमा बृद्धि गर्न आईसीसीसँग प्रस्ताव गरिएको क्यानका कोषाध्यक्ष रोशन सिंहले बताए । कोषाध्यक्ष सिंहले भने- ‘सबै खेलाडीको तबलमा १० हजार रुपैयाँ वृद्धि गर्न आईसीसीसँग प्रस्ताव गरेका छौं ।’ खेलाडीले ए, बी र सी श्रेणी अनुसार क्रममा ३५ हजार, २५ हजार र १५ हजार पाउदै आएका छन् । क्यानको प्रस्ताव आईसीसीले स्वीकार गरेमा ए श्रेणीका खेलाडीले ४५ हजार, बीले ३५ हजार र सी श्रेणीका खेलाडीले २५ हजार रुपैयाँ मासिक रुपमा पाउनेछन् ।
वि.सं.२०७७ जेठ २७ मंगलवार ०९:१३




















