निसर्ग नामको चक्रवातको प्रभावले बिहीबारदेखि तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई
वि.सं.२०७७ जेठ २१ बुधवार १०:४१
1.2K
shares
काठमाडौं: निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा बिहीबारदेखि वर्षा हुने मौसमविद्ले जनाएका छन् । चक्रवातको प्रभाव बुधबार दिउँसोबाटै देखिने र बिहीबारदेखि तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष प्रभावले नेपालमा पनि वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । भारतमा भने चक्रवातको प्रभावले वर्षा सुरु भइसकेको छ । नयाँ चक्रवात विकास भइरहेको विवरणसँगै भारतको मौसम पूर्वानुमान निकायले दुई दिन भिषण आँधीबेहरी, वर्षा र चट्याङ पर्न सक्ने चेतावनी दिएको छ ।
नेपालमा बिहीबार मध्यम खालको वर्षा हुने र शुक्रबार र शनिबार ठूलो पानी पर्ने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । मनसुन भारतको केरला प्रवेश गरिसकेकोले जेठ मसान्तअघि नै नेपालमा मनसुन सुरु भइसक्ने महाशाखाले जनाएको छ । यसैबीच बुधबार कर्णाली र सुदूरपश्चिम बाहेकका प्रदेशमा सामान्य पानी पर्ने सम्भावना रहेको र सुदूरपश्चिम प्रदेश र प्रदेश १ को पहाडी भू-भागमा सामान्य बादल लागेको र अन्य ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वि.सं.२०७७ जेठ २१ बुधवार १०:४१



















