भिडियो कन्फ्रेन्स मार्फत एन्फाको कार्यसमिति बैठक, ७० करोडको बजेट प्रस्तुत, थापा कारबाहीको बिषय अनुमोदन
वि.सं.२०७७ जेठ २० मंगलवार ०८:०७
1.3K
shares
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक वर्षका लागि सोमबार बसेको कार्यसमिति बैठकले प्रसाशनिक खर्च लगातका बिषयमा ७० करोड माथिको बजेट पारित गरेको छ । एन्फाका कोषाध्यक्ष रबिन्द्र जोशीले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक बजेट ७० करोड ४१ लाख १९ हजार ६ सय ८५ बिनियोजन गरी पेश गरे ।
यस्तै ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाको कारबाहीको बिषयलाई अनुमोदन गरेको छ । संघको बिधान बिपरीतका गतिविधि गरेको भन्दै यसअघि नै निलम्बनमा परेका थापाको कारबाहीको विषयलाई अनुमोदन सहित अनुशासन कमिटिमा पठाइएको हो । बैठकमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उनको आचरणबारे प्रश्न उठाएको बताईएको छ । यसअघि थापालाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेपछि एन्फाले जेष्ठ २४ गते स्पष्टीकरण सोधिएको थियो तर, स्पष्टीकरण पत्रमा एन्फालाई उल्टै जवाफ फर्काएपछि प्राप्त जवाफ चित्त बुझ्दो नभएकोले बिधानको धारा १४ को उपधारा १(क) समेतको बिपरीत हुने ठहर सहित बिधान अनुसार एन्फाले उनलाई निलम्बन गरेको थियो । सोमबार बैठकमा सोही कारबाहीको बिषय अनुमोदन हुँदै अनुशासन कमिटिसम्म पुगेको हो । उनको बिषयमा एन्फाले आगामी साधारण सभामा निर्णय लिने छ ।
बैठकले १९औँ नियमित साधारणसभा आगामी भाद्र १५ गते, सोमबार सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीकाबीच एन्फाले भिडियो कन्फ्रेन्स मार्फत बैठक राखेको थियो ।
वि.सं.२०७७ जेठ २० मंगलवार ०८:०७



















