कोरोना भाईरसको महामारी अझै दुई वर्षसम्म कायम रहने अनुसन्धानकर्ताको प्रक्षेपण
वि.सं.२०७७ वैशाख २१ आइतवार ०९:१२
1.3K
shares
एजेन्सीः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरुसबाट २ लाख ३९ हजारभन्दा बढी मानिसको ज्यान गईसकेको छ । यो भाईरसको महामारी अझै दुई वर्ष कायम रहने अनुसन्धानकर्ताहरुले निष्कर्ष निकालेका छन् ।
अमेरिकाको मिन्नेसाता विश्वविद्यालयस्थित संक्रामक रोग अध्ययन तथा नीति केन्द्र (सिआईडीआरएपी) ले सार्वजनिक गरेको मोडलिङ अध्ययन अनुसार भाइरस रोकिनका लागि ७० प्रतिशतभन्दा बढी व्यक्तिमा प्रतिरोधी क्षमता विकास हुनुपर्ने बताएको छ । आगामी दिन र वर्षहरुमा कसरी कोरोना भाईरुस फैलन सक्छ भन्ने प्रक्षेपण गर्न विज्ञहरुले सन् १७०० यताका आठवटा प्रमुख इन्फ्लुएन्जा महामारीबारे अध्ययन गरेका थिए ।
विज्ञहरुका अनुसार विगतका आठवटा महामारीमध्ये ७ वटा महामारी पहिलो लहर सिर्जना भएको ६ महिनाभित्र अर्को ठूलो लहरसहित प्रकट भएका थिए । त्यस्तै, केही महामारी सुरुवातको झन्डै २ वर्षसम्म स–साना लहरसहित खतराका रुपमा कायम थिए । ‘यो महामारीको समय झन्डै १८ देखि २४ महिनासम्म रहने देखिन्छ, यतिबेला मानव जनसंख्यामा हर्ड इम्युनिटी बिस्तारै विकास हुन थाल्छ,’ रिपोर्टमा भनिएको छ ।
रगत परीक्षणको तथ्याङ्क अनुसार समग्र जनसंख्याको थोरै प्रतिशतमा मात्रै अहिलेसम्म संक्रमण देखिएको छ र सम्भावित भ्याक्सिन बन्न वर्षौ नलागेपनि कम्तिमा केही महिना अझै लाग्नेछ । संक्रमणबाट मुक्त भएका मानिसमा रोग प्रतिरोधी क्षमता विकास हुन्छ भन्ने स्पष्ट छैन, भइहाले पनि कति समयसम्म त्यस्तो प्रतिरोधी क्षमता कायम रहन्छ भन्ने स्पष्ट छैन ।
रिपोर्टले अन्य धेरै सम्भावित परिदृश्य देखाएको छ, जस्तो २०२० को अन्त्य वा जाडोयाममा ठूलो संख्यामा बिरामीको लहर आउनेछ र २०२१ मा निरन्तर सानो लहर आइ नै रहनेछ । अनुसन्धानकर्ताहरुले १८ देखि २४ महिनासम्मका लागि मानिसहरु कोरोना भाईरससँग जुध्न तयार हुनुपर्ने पनि बताएका छन् ।
वि.सं.२०७७ वैशाख २१ आइतवार ०९:१२



















