कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे ‘भिडियो कन्फरेन्स’, ‘लकडाउन’लाई प्रभावकारी बनाउने विषयमा छलफल
वि.सं.२०७६ चैत २९ शनिवार १९:०६
1.3K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच कोरोनाभाइरस रोकथाम र नियन्त्रणबारे ‘भिडियो कन्फरेन्स’का माध्यमबाट ‘लकडाउन’लाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित ‘एक्सन रूम’बाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने- ‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दा–देख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न म आग्रह गर्दछु ।’ सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको स्पष्ट पार्दै सरकार स्वयंले अधिकारका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीच–बीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्नेजस्तो नगर्न आग्रह गरे ।
लकडाउनमा प्रशासनिक लापरबाही हुन नहुनेमा जोड दिँदै उनले मेला लाग्ने तथा मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्न प्रशासन र प्रहरी सजग हुनैपर्ने निर्देशन दिए । जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गरे ।
प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट गर्दै सरकार प्रभावकारी र सफलरूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदी–बहिनी तथा दाजु–भाइलाई अनुरोध गरे ।
करिब चार घन्टाभन्दा बढी चलेको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशमा कोरोनाभाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका पहल र स्थितिबारे जानकारी गराएका थिए ।
वि.सं.२०७६ चैत २९ शनिवार १९:०६



















