त्रिभुवन विमानस्थलबाट मिक्सरमा सुन लुकाएर ल्याउने एक जना प्रहरीको नियन्त्रणमा

वि.सं.२०७९ वैशाख २० मंगलवार १०:२७

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट मिक्सरमा लुकाएर सय ग्राम सुन ल्याउने प्रयास गरेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान करिब ७ बजे कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका ती पुरूषबाट सुन बरामद गरिएको हो ।
विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार रुपन्देहीका २८ वर्षीय सरोज कार्की पक्राउ परेका हुन् ।
विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने क्रममा उनले ल्याएको मिक्सरको भित्री भागमा फल्स बटम बनाइ करिब सय ग्राम सुनलाई बाहिर कालो टेपले बेरेर लुकाइ ल्याएको फेला परेको भट्टराईले बताए ।
यस्तो केस यस अघिपनि आएको उनको भनाइ छ । सुन तस्करी गर्नेहरूले पछिल्लो समय विभिन्न तरिका अपनाउने गरेका छन् ।
मिक्सरमा लुकाएर सुन यस अघि भदौमा पनि ल्याएको भेटिएको भट्टराईले बताए । त्यो समयमा झण्डै १२ सय ग्राम सुन बरामत गरिएको उनी बताउछन् ।
भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम सय ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिरेर ल्याउन पाउने कानूनी व्यवस्था छ ।
त्यसरी राजस्व तिर्दा सय ग्राम सुनको रु. १ लाख ५ सय ६५ राजस्व तिर्नुपर्ने हुन्थ्यो । तर यात्रुले भन्सार राजस्व छल्ने वद्नियतका साथ भन्सार कार्यालयमा घोषणा नगरी सुन लुकाई छिपाई ल्याएको पाइएको भट्टराईले बताए ।

वि.सं.२०७९ वैशाख २० मंगलवार १०:२७