साउन २९ गतेसम्म कक्षा १२ को पुनर्योगका लागि आवेदन दिन सकिने, पूरक परीक्षाको तालिका सार्वजनिक

वि.सं.२०८२ साउन २० मंगलवार ०८:२५
3.2K
shares
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलमा चित्त नबुझेका विद्यार्थीहरूका लागि पुनर्योगको लागि साउन २९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना जारी गर्दै पुनर्योग गर्न चाहनेले अनलाइनमार्फत निवेदन दिन आग्रह गरेको हो । गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालित कक्षा १२ को नियमित तथा आंशिक परीक्षाको नतिजा साउन १९ गते प्रकाशित भएको थियो ।
यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा भदौ २८ र २९ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो । बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले आज एक सूचना जारी गर्दै परीक्षा तालिका र आवेदन प्रक्रियाबारे जानकारी दिएको छ ।
कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो । परीक्षामा ५ हजार २०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए । कक्षा १२ को नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । बोर्डका अनुसार ३८.८३ विद्यार्थीको एनजी(ननग्रेड) आएको छ ।

वि.सं.२०८२ साउन २० मंगलवार ०८:२५