श्याँदर पिदार यथार्थ: भ्रम र निराकरणको उपाय बारे एक चर्चा परिचर्चा
वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४४
1.6K
shares१. श्याँदर कि चण्डी ? अर्थ, कारण र सच्चिनुपर्ने कारणः
श्याँदर पिदार कोइँचको मौलिक पूजा अराधना हो । अनुष्ठान हो । बाँदो वा भाकल वा गरेर मनोकांक्षा पुरा गरिने पिदार वा प्रर्थाना हो । प्रकृति र सबै जातजातिको मृत देवात्म र प्रेतात्महरुको पूजाआराधना गर्नु वा साझा (शका) पूजा नै श्याँदर हो । तर चण्डी भनेको हिन्दु धर्मको सिमा वा दुर्गा वा किल्ला रक्षक भागवतको श्रीमती हो । यो बाहुनले पाठ गर्छ । विशेष गरी दशैमा दुर्ग सप्तसती चणंडी पाठ गरिन्छ । त्यही पाठ कोइँच गाउँको बाहुनले श्याँदर ग्योरको एक छेउ वा दुर्ग स्तम्भमा गएर पाठ गर्ने गर्छन । विशेषगरी १८८२ पछि कोइँचले बाहुन पढाउन थालेपछि मुखियाहरुले बाहुनहरुलाई श्याँदर ग्योर नजिकै दुर्गस्तम्भ बनाउन लगाई पाठ गराउने चलन चलेको देखिन्छ । यसैले रैथाने वा आदिवासी हौ र हुँ भन्छौं भने मौलिक संस्कृति बिटुलो बनाउनु हुँदैन आ-आफ्नोपनलाई मान्यता दिनुपर्छ । हामी सच्चिनुपर्छ ।
२. पर्व कि चाड ? अर्थ, कारण र सच्चिनुपर्ने कारणः
२०५८ सालमा नेपाल सरकारले किरातीहरुले मान्ने चाडलाई किरात चाड नाम दिएर राष्ट्रिय चाडको मान्याता दियो । र, उक्त चाडको मान्यता दिन दिलाउन तत्कालिन चार किरात संस्था कियाचु, किराया, कियाछु र सुसेस अध्यक्षले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । विशेषगरी मञ्जुल याक्थुम्बा र राजबहादुर राईको भूमिका अहम् थियो । राज्यले मान्यता दिएपछि चार किरा संस्थाको सिफरिसमा जितपाल किरात, अर्जुन लिम्बु, लिलाबहादुर रोगु र उत्तमकुमार सुनुवारले किरात चाड परिचय पुस्तक लेखेर प्रचार प्रसार गर्ने काम भएको थियो । यसलाई किरात याक्थुम चुम्लुङले प्रकाशन गरेको थियो । पर्व भन्नाले कुनै पनि घटना अर्थात् ईतिहासको कुनै कालखण्डमा भएको घटनालाई लिएर सम्झिरहने वा मनाईने पर्व रहेको जस्तैः कोत पर्व, भण्डारखा पर्व कुनै काण्डको रुपमा व्याख्या भएको हुँदा हामी किरातीहरुले विश्व शान्ति मानव कल्याणको लागि प्रकृति र पुर्खा स्मरण गरिने भएको हुँदा पर्व नभनी चाड भन्ने अर्थ र कारण किरात पर्व नभनी चाड भन्ने सहमत भएको हो । यसैले पर्वको सट्टा चाड भन्ने बानी बसाल्नुपर्छ ।
३. श्याँदर पिदार एक कि विविधः
हामीमा एउटै किसिमको श्याँदर पिदार हुनुपर्ने चौतर्फी कुरा उठेको देखिन्छ । यथार्थमा श्याँदर पिदार एकै किसिमको हुँदैन र होइन । श्याँदर पिदार थरगत हुन्छ । अर्थात्, भूमिसँग सम्बन्धित हुन्छ । हालसम्म अस्तित्वमा रहेको श्याँदर भनेकै सेबे, सैपु, साब्ला, बुज, प्लेत्ति, कास्थेल, चारम, कुँबु, काःत, खिःची, रागीन, चाप्लेटी, पोकली श्याँदरको हो । यिनीहरु एकापसमा फरक छन् र यिनिहरुको महत्व र पूजा आराधानाको विशेषता पनि फरक छ । विविधता छ । जसलाई कोइँचहरुले आफ्नै श्याँदर भनेर स्वीकार्ने, मान्ने र मान्यता दिने गर्दछन् । श्याँदर पिदार मुइलि मुइँग्यो अनुसार फरक हुन्छ ।
४. श्याँदर पिदार गर्नुको कारणः
श्यँदार पिदार गर्नुको मुख्य कारण जुन भूमिमा हामी बसेका छौं त्यहीको प्रकृति, देवात्मा र प्रेतात्माको पूजा आराधना हो । धन सम्पत्ति भएको वा सक्ने कतिपय चफोनिफोहरुले बाँदो उठाएर घरबारीमा एक्लै प्रकृति, देवात्मा र प्रेतात्माको पूजा आराधना गर्ने गर्दछन् । तर सबैले सक्दैनन् यसैले गाउँको मुलिच, नासोच, गाउरोच, दिगर्च, तोँकुचहरुको चुमले गाउँमा सबै मिलेर साझा शका पिदार अर्थात् श्याँदर पिदार गराउने प्रचलन नै श्याँदर पिदार हो ।
यो श्याँदर पिदारमा घर घरमा बाँदो उठाएको पूजा सामाग्री वा बलीको पशुपन्छी लगेर श्याँदरमा मिसाएर पिदार गर्न् गरिन्छ । कतिपय गाउँमा काःस गिल गर्न नसकेको कारण श्याँदरमै मिसाउने गरेको पाईन्छ । यतिसम्म कि मृत्यु संस्कारमा गरिने हुग्रो सुचा संस्कार समेत श्याँदरमा मिसाएको पाईएको छ । यसैले खिःचीको श्याँदरमा धेरै दर्शनार्थी र आफन्तहरु जान डराउँछन् । उनीहरुमा सातो चिब्बा वा सातो फेर्ब भन्ने मान्यता छ । श्याँदर मानेर फर्किदा कपडाको पुल्ठो बालेर फर्किनुपर्छ भन्ने समेत जनकथन रहेको छ ।
५. श्याँदर पिदार कि उभौली/उद्यौली ?
श्याँदर पिदार दिनदिनै गर्ने नियमित पूजा आराधाना हो । तर कुनै पूजा आराधना दिनदिनै नगरी छ/छ महिनामा पृथ्वीको दक्षिणतिर घाम सर्दा वा भू-मध्यरेखादेखि दक्षिण घाम जाँदा जाडोमा उद्यौली र भू-मध्यरेखादेखि उत्तरतिर घाम जाँदा गर्मीमा उभौली दुई पटक पूजा आराधना गर्नुलाई उँभौली र उद्यौली भनिन्छ । श्याँदर पिदार एक प्रकृति र पुर्खा स्मरण पूजा आराधान हो भने उभौली उद्यौली भनेको जाडो र गर्मी वा घाम भू-मध्यरेखाभन्दा तल र माथि सर्ने समय अवधि हो ।
६. श्याँदर पिदारमा बजाईने बाद्यबादनको किन र कसरी बजाउने ?
श्याँदर पिदारमा बजाईने बाद्यबादनको संकेतात्मक वा लाक्षणिक अर्थ भनेको प्रशासनिक वा परम्परागत कार्य व्यवस्थापन हो । श्यारी ढोलको काम निम्तो दिन, फोका ढोलको काम फोका काट्ने, वाःशी ढोलको काम वाःशी गर्ने, भुमे ढोलको काम भुमे पूजा गर्ने, हाम्तिम र शेन्मा वा एकोपेको ढोलको काम हाम्तिम, एकोपेको वा शेन्मा पूजा गर्ने, त्यसैगरी भाले र पोथी ढोल भनेको मुइली वा मुली ढोल हो । यसले श्याँदर गर्ने भूमि वा थर कुन हो भन्ने जानकारी दिने गर्दछ । ढोल र नाःसो एकार्कामा अभिन्न हुन्छन् ।
७. श्याँदर पिदारको पूजा किन दिन ढलेपछि गरिन्छ ?
थपो भित्र्याएपछि र पूजा चलाएपछि कोहि पनि घर वा मन्दिरमा आउन मिल्दैन । यदि कुनै व्यक्ति थाहै नपाइ पूजा चलाएपछि आयो भने उसको ६ महिना एक वर्षमा दाइल दुम्शा मृत्यु हुन्छ भन्ने जनविश्वास छ । यो परम्परागत मान्यता हो । कतिपय अवस्थामा त्यस्तो अनिष्ठा भएको घटना पनि छन् । अझै पनि प्लेत्ति श्याँदरमा फोहर गर्ने माओवादीलाई चप्लेटी जिलीमा आर्मीको भिडन्तमा मरेको भन्ने समेत चर्चा सुन्नमा पाईन्छ ।
८. श्याँदर पिदारमा नाअसोको भूमिकाः
श्याँदर पिदारको मुख्य भूमिका नाअसोको हुन्छ । श्याँदरमा नाअसो स्वयत्त र स्वशासित हुन्छन् । आफुले गर्ने कामको नियम आफै बनाउने गर्छन् । मुख्यत उनीहरु इमान्दार हुन्छन् । त्यो अदृश्य शक्ति वा विश्वास र मान्यताले निर्देशित गरेको हुन्छ । नाअसोको संगठानिक संरचना मेट्रिक प्रणालीमा आधारित हुन्छ । गाउँको मुलिच, गाउरोच, नासोच, तोँकुच, दिगर्चहरुको परम्परागत संगठन कोइँच चुप्लुले बनाएको नियमभित्र स्वतन्त्र रुपमा नाअसोले काम गर्छन् । भुमे नाअसोले भूमि पूजा गर्ने र पूजा सामाग्री जोहो गर्ने, वाअशी नाअसोले वाअशी पिदार गर्ने गर्दछन् । मुइलि नाअसोले सबै पिदारको समन्वय र व्यवस्था गर्ने गर्दछ ।
९. श्याँदर पिदार कुल पूजा कि चाड ?
कुला पूजा एकै घरपरिवारको दाजुभाइ चफोनिफोहरुबीच लगामा प्रवेश पाएको पुर्खाको पूजा आराधाना हो । यो कुल पूजामा कइँच सुनुवार वाहेक अन्य जातिलाई प्रवेश निषेध हुन्छ । तर चाड भनेको सबै जातजातिहरुको सहभागीतामा पूजा आराधाना गर्ने रमाईलो गरेर आनन्द लिने गरिन्छ । चाडमा कुलमा प्रवेश गर्न प्रतिवन्धित पुर्खाको पूजा आराधना हुन्छ । श्याँदर पिदार कुल पुजा होइन । सबै मिलेर मनाइने कोइँच भूमिको मौलिक चाड हो ।
१०. मुइलि कि मुलि नाअसो ?
श्याँदर पिदारमा मुलि नाअसो भन्नाले मुख्य पुजारी भन्ने सबैले बुझ्ने गरिन्छ । तर मुलि भनेको मुइँलि हो । मुइँलिको अप्रभंस मुलि भएको र मुलि भनेको मुल वा मुख्यको पर्यायवाची शब्दको रुपमा लएर मुख्या वा ठूलो नाअसो भनेर बुझ्ने गरिएको छ । यो बुझाइ गलत हो । श्याँदर पिदार भनेको मुइलि अनुसार गरिन्छ । दुमा मुइलिको दुमा श्याँदर, जत्न मुइलिको जत्न श्याँदर, सरिङ मुइलिको सरिङ श्याँदर वा सिरी श्याँदर भनिन्छ । सिरी अप्रभंस भइ श्री वा धनकी देवी लक्ष्मी चण्डी भन्ने समेत गरेको पाईन्छ । खासमा त्यसो होइन । मुइलि नाअसो भनेको कुन मुइलिको श्याँदर हो त्यो मुइलिको आधिकारीक पूजा आराधना गर्ने नाअसो भनिएको हो ।
११. बाँदो र पूजा सामाग्रीः
श्याँदर पिदार गर्दा श्याँदर ग्योर वा मन्दिरमा के चढाउने भन्ने धेरैमा कौतुहल भएको देखिन्छ । पछिल्लो समय श्याँदर पिदार भनेको नाच्नु हो र रमाइलो गर्नु हो भन्नेतिर उन्मुख भएको देखिन्छ । तर श्याँदर पिदार नाच्नु मात्रै होइन र नाच पनि प्रक्रियागत हुन्छन् । कोइँच जनजीवनको कथा वा इतिहास भन्ने किसिमका हुन्छन् । यसैले श्याँदरमा दुई किसिमको पूजा सामाग्रीहरुले पूजा आराधना गरिन्छ । दुर्गस्तम्भा वा रक्षाको प्रतिक, अर्थात् अमूर्त देवता थपनालाई त्रिशुल र घण्टी चढाईन्छ । खासमा यो चाहि सिकारी हो । कुनैपनि कार्य पुरा होस् भनि बाँदो वा भाकल गरिने पूजा सामाग्रीहरु चढाउने गरिन्छ । यसरी भाकल गर्दा एक माना कोदो वा भेटी, ध्वजा, अक्षेता बाँदो उठाईन्छ अनि ढोल, झ्याम्टा, राँगा, बोका, कुखुरा चढाउने गरिन्छ । त्यो सँगसँगै फाँक खामे, चिरो, बाबर, खलम कलम थपो, ध्वजा चढाउने गरिन्छ । यसरी चढाउँदा आफूले कसलाई भाकल गरेको हो सोही स्थानमा गएर पिदार गर्नुपर्दछ । श्याँदर देयी भनेर चढाउने वा भाकल सामग्रो भने चाँफे पिदारमा चढाउने गरिन्छ ।
१२. भेषभुषा र श्याँदर पिदारः
श्याँदर पिदारमा सधै कोइँच परम्परागत भेषभुषाको बारेमा कोइँच चिनारीको भेषभूषा हो कि होइन भनेर छलफल चलिरहन्छ । श्याँदर पिदारमा कोइँचकै भेषभुषा यस्तै लगाउनुपर्छ भन्ने किटान भने गरिएको पाइँदैन । तर कइँच पहिचान वा चिनारी दिने भेषभुषा लगाउँदा कोइँचलाई मल्ल, सेन र गोर्खा राज्यले कोइँच भूमि अतिक्रमण गरेपछि सुनकोशी वरिपरि बस्ने जाति सुनुवार भनेर चिनाउन थालेपछि सुनुवार जातीय नामकरण भएको हो । कोइँच भनेको रक्षक वा हेरालु भन्ने अर्थमा प्रयोग हुन्छ । तर सुनुवार जातीय नामसँग अन्य जातिको पेसागत थरसँग पनि जोडिन गएको हुँदा कोइँचको असली पहिचानको लागि मौलिक चाड श्याँदर पिदारमा पहिचान झल्किने भेषभुषा लगाउनुपर्ने मान्यता राखिएको हो ।
१३. श्याँदर पिदार लैङ्गिक सहभागिताः
श्याँदर पिदारमा पुरुषको मात्रै हालिमुहाली हो कि भन्ने आभास हुन्छ । ढोल बजाउने पूजा गर्ने पुजारी नाच्ने सबै पुरुष मात्रै देखिन्छ । तर ग्यामी भने नाच्छन् र कुनै कुनै श्याँदर ग्योरमा सोली बोक्नेमा महिला पाईन्छ । खासमा श्याँदर ग्योर मन्दिरमा महिला नाच्ने गरेको पाईदैन तर गाउँ घुम्दा भने महिला पनि नाच्छन् ।
१४. किपटको श्याँदर पिदार र २०५८ सालपछि स्थापित श्याँदर पिदारः
किरात चाडलाई नेपाल सरकारले राष्ट्रिय चाडको मान्यता दिएपछि भने देश विदेशमा कोइँचमा हौसला र रहर बढ्यो । अनि श्याँदर ग्योर स्थापना भयो र चाड मान्ने चलन चल्यो । तर ष्याँदर ग्योर स्थापना हुँदा थरगत मुइलि छुट्याएर स्थापना गरिएन । राज्यले दिएको मान्यतालाई उत्सवको रुपमा मनाउने चलन त बढ्यो तथा गुढार्थ भने कसैले बझ्ने कोशिस भएन । यसैले जसो गर्दा पनि श्याँदर पिदार मनाउन मिल्छ भने जस्तै प्रचलन बढिरहेको छ । यसैले किपटमा विधि पुर्याएर श्याँदर गर्नुपर्छ भनेर श्याँदर गर्न नसकिएको तर अन्ततः मुख्य कारण अर्थ नबुझेपछि मनपरी नाच र बाद्यबादन भएको पाईन्छ त्यसैले अब सच्चिनुपर्छ ।
१५. नाअसो बनाउने कि नियुक्ती वा मनोनयन गर्ने ? एकै मुइलिको हुने कि फरक मुइलिको हुने ?
श्याँदरमा नाअसो नियुक्ती हुँदैन । नाअसो बनाउनुपर्दछ । नाअसो बन्ने व्यक्ति अपरिपक्व हुने गर्दछ । अनि पछि पोइँबोले सालिङ्गो बार्शा नाअसो बनाईन्छ । यसरी बनाईएको नाअसोले अदृश्य शक्ति वा आत्महरु देख्ने गर्दछ । नाअसो खास गरी एकै मुइलिको हुनुपर्छ । अर्को मुइलिको भएपनि आफ्नो मुइलिमा भित्र्याउनुपर्दछ ।
१६. निराकरणको उमायः
यी सबै विरोधाभास विषयहरुलाई जिल्ला जिल्लाका मातहतका समितिहरु र नयाँ नाअसोहरुसँग सहकार्य र अनुशिक्षण गराउन जरुरी देखिन्छ ।
वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४४