संखुवासभाको सिलिचोङ गाउँपालिकामा बाढी पहिरोले गाउँ बगाउँदा ११ जना बेपत्ता, उद्धारका लागि प्रहरी टोली जाँदै
वि.सं.२०७७ असार २८ आइतवार ०९:३८
1.1K
shares
संखुवासभाः संखुवासभाको सिलिचोङ गाउँपालिका-१ मा गएराति अविर वर्षाका कारण पहिरो जाँदा ११ जना बेपत्ता भएका छन् ।
पहिरोले आठ वटा घर बगाउँदा ११ जना बेपत्ता भएका संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिएका छन् । राति सुतिरहेको बेला आएको पहिरोले घर बगाउँदा स्थानीय जुद्धबहादुर माने र उनकी आमा, सन्दीप कुलुङ र उनका बुवा-आमा, जुद्धबहादुर गैरी, राममान कुलुङ र उनकी आमासहित ६ घरका ११ जना बेपत्ता भएका डिएसपी मल्लले जानकारी दिए । बाँकी दुई घरका मानिस भने भागेर जोगिएका छन् ।
घटनास्थलमा अझै प्रहरी पुग्न सकेको छैन । घटनास्थलमा प्रहरी टोली पुग्न नसकेका कारण विस्तृत विवरण भने आउन नसकेको र भारी बर्षा भइरहेकाले उद्धारमा कठिनाई भएको डिएसपी मल्लले जानकारी दिए । मल्लका अनुसार गाडी चल्ने बाटो नभएका कारण नजिकै रहेको प्रहरी चौकी सिसुवाबाट घटनास्थल पुग्न साढे ३ घण्टा पैदल हिँड्नु पर्ने जानकारी दिए ।
प्रहरी चौकी टांकुबाट सई र सिसुवाबाट असईको नेतृत्वमा ११ जनाको प्रहरी टोली घटनास्थल तर्फ प्रस्थान गरेको छ । सदरमुकामबाट नेपाली सेना र सशस्त्र प्रहरीको अर्को टोली पनि घटनास्थल जानको लागि तयारी अवस्थामा रहेको डिएसपी मल्लले जानकारी दिए ।
वि.सं.२०७७ असार २८ आइतवार ०९:३८




















