काठमाडौ उपत्यकामा फेरी निषेधज्ञा, भिडभाड गर्न नपाईने
तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्न पाइने
वि.सं.२०७८ साउन २० बुधवार १०:४२
2.9K
shares
काठमाडौं: काठमाडौ उपत्यकामा फेरी निषेधज्ञा थपिएको छ ।
कोरोनाको सङ्क्रमण बढ्न थालेकाले भोलि २१ गतेदेखि २७ गतेसम्म एक हप्ताका लागि निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
अब तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्न पाइने छ ।
यसअघि यस्ता कार्यक्रम २५ जना भन्दा बढी भेला नगराइ गर्न पाइन्थ्यो । तर, यसको पालना भने हुन सकेको थिएन ।
स्वास्थ्य मापदण्डको पालना नभएकै कारण संक्रमण फेरि बढेको भन्दै भीडभाडजन्य गतिविधि रोक्न भनिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
त्यसैगरी कोरोनाको लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई एन्टिजेन तथा पीसीआर परीक्षणका लागि सम्बन्धित पालिका, जिल्ला अस्पतालमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
त्यस्तै, स्वास्थ्यको मापदण्ड पालना गरे नगरेको बारे अनुगमन गर्ने र अनुगमनको अवज्ञा गरे कोरोना सङ्कट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।
त्यस्तै, सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न, गराउन नपाइने विगतको व्यवस्थालाई कायमै राखिएको छ ।
वि.सं.२०७८ साउन २० बुधवार १०:४२




















