बर्खे बिदामा विद्यार्थीका लागि कम्प्युटर कक्षा सञ्चालन गर्दै उमाकुण्ड गाउँपालिका
वि.सं.२०८१ असार २७ बिहीवार १७:४७
966
shares
रामेछाप: रामेछापको उमाकुण्ड गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा बर्खे बिदाको समयमा विद्यार्थी लक्षित कम्प्युटर कक्षा सञ्चालन हुने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका अन्तर्गतका सबै माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ भन्दा माथिका विद्यार्थीहरूलाई बर्खे बिदाको समयमा दैनिक २ घण्टा कम्प्युटर कक्षा सञ्चालन गर्न भनेको छ ।
उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जारी गरेको सूचनामा भनिएको छ ‘यस गाउँपालिका अन्तर्गत माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ भन्दा माथिका विद्यार्थीहरूलाई बर्खे बिदाको समयलाई लक्षित गरी दैनिक २ घण्टाको दरले न्यूनतम २० जना विद्यार्थीको समूह बनाई १५ दिने कम्प्युटर (अफिस प्याकेज) सम्बन्धी कक्षा सञ्चालन गर्नु हुन जानकारी गराइन्छ ।’
विद्यालयले कम्प्युटर कक्षा सञ्चालन गरे पश्चात् विद्यार्थीको हाजिरी र शिक्षकको हाजिरी सहितको कागजात संलग्न राखी भुक्तानीका लागि गाउँपालिकामा पेस गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ ।
वि.सं.२०८१ असार २७ बिहीवार १७:४७