ललितपुर महानगरपालिकाले मनायो १०५औं स्थापना दिवस
वि.सं.२०८० पुस २ सोमवार १३:४९
1.9K
shares
ललितपुरः प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा ललितपुर महानगरले १०५औं स्थापना दिवस मनाएको छ । स्थापना दिवस कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलगायत विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु पनि सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्राप्त उपलब्धीलाई जनतामाझ पुर्याउन नसके देश दुर्गतीतिर फर्किने खतरा बढ्ने बताए । नेपालमा नेगेटिभ कुरा गर्न प्रवृत्ति बढेको भन्दै प्रधानमन्त्री दाहालले अब राजनीतिक दलहरुले राजनीतिक स्थायित्व, विकास र समृद्धिको यात्राबाट जनतामा आशा जगाउन र भरोसा दिलाउन सक्नुपर्ने बताए ।
‘नेगेटिभ कुरा बढि गर्ने बानी बस्न थाल्यो नेपालमा । सकारात्मक नदेख्ने, सकारात्मक र उज्यालोतिर नहेर्ने, खाली अध्यारो र नकरात्मक । यस्तो भयो भने हामीले राजनीतिक स्थायित्व, विकास र समृद्धिको यात्रा, जनतामा आशा जगाउने, जनतालाई भरोसा दिने काम गर्न सक्दैनौं । के संघीय लोकतान्त्रिक गणतन्त्र र स्थानीय सरकारले प्रत्यक्ष जनतासँग सहकार्य गरेर विकास निर्माण र सेवा प्रदानमा पहिलाको भन्दा राम्रो गरेको छैन र ?’ प्रश्न गर्दै उनले भने, ‘पक्कै गरेको छ । किन त्यो कुरालाई हामी सकारात्मक ढंगले भन्दैनौं ? यो परिवर्तन ल्याउने तमाम योद्धाहरु, राजनीतिक दल र नेताहरुको भूमिकालाई हामीले किन सकारात्मक ढंगले भन्दैनौं ?’
वि.सं.२०८० पुस २ सोमवार १३:४९




















