पृथ्वीनारायणको सालिक अनावरण गर्न पूर्व राजा शाह झापामा
वि.सं.२०८० मंसिर ९ शनिवार १२:५९
झापा: बिर्तामोडस्थित इकोम कलेजको आयोजनामा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार अपराह्न झापा आइपुगेका पूर्व राजा शाह धुलाबारीस्थित मेची रिसोर्टमा बसेका छन् ।
आज पूर्व राजा शाह इकोम कलेजको आयोजनामा हुने सालिक अनावरण कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । कलेजकै कार्यक्रममा सहभागी हुन आएका पूर्व राजा शाहलाई मौका छोपी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजवादी पक्षधरहरूले उनको पक्षमा बृहत् स्वागत र्याली निकाल्ने भएका छन् ।
मेची रिसोर्टबाट निस्कन साथ पूर्व राजा शाहलाई राप्रपा कार्यकर्ता र राजवादी पक्षधरहरूले मोटरसाइकल स्कर्टिङ गरी बिर्तामोडसम्म लैजाने कार्यक्रम रहेको जनाइएको छ । अहिले राप्रपा कार्यकर्ता र राजवादी पक्षधरको धुलाबारीमा जमघट भइरहेको छ ।
इकोम कलेजले सालिक अनावरण कार्यक्रमको तयारी पूरा गरिसकेको जनाएको छ । कलेजभन्दा बाहिर अरूले राजनीतिक कार्यक्रम गर्न खोजेपनि कलेजको प्राङ्गणभित्र राजनीतिक गतिविधि हुन नदिने कलेजका अध्यक्ष आलोक कार्कीले बताएका छन् । पूर्व राजा शाहको हातबाट सालिक अनावरण र कलेज उद्घाटन कार्यक्रम रहेको उनले जानकारी दिए ।
वि.सं.२०८० मंसिर ९ शनिवार १२:५९