नेपाली कांग्रेस कहाँ छ ? अध्यक्ष ओली
वि.सं.२०८० असोज १७ बुधवार १४:३१
विराटनगर: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वको निहित स्वार्थमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानुपर्ने धारणा राखे । मुलुकमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशिल विषय भएको बताए । उनले कुनैपनि धर्मप्रति आस्था राख्न पाइने तर मुलुकमा परिर्वतन गर्न सोचेजस्तो सहज नहुने बताए । अध्यक्ष ओलीले नेपाललाई हिन्दु राष्ट्र बनाउन संसदको दुई तिहाई मत चाहिने समेत स्पष्ट पारे ।
अध्यक्ष ओलीले मुलुकमा अराजकता र अस्थिरताका साथै महंगी र मुल्यवृद्धि हुँदा समेत नेपाली कांग्रेस चुप लागेर बसेको भन्दै कांग्रेस कहाँ छ भनेर प्रश्न गरे । ओलीले कोशी प्रदेशमा मध्यावधी निर्वाचन कुनै पनि हालतमा उपयुक्त नभएको भन्दै यसका लागि राजनैतिक दलहरु संवेदनशिल हुनुपर्ने जिकिर गरे । दलहरु मिल्नुको विकल्प नभएकाले मध्यावदी बाटो जान नहुने बताउँदै यदि निर्वाचन भइहाले एमाललेले बहुमत ल्याउनेमा ढुक्क रहेको उनले बताए ।
वि.सं.२०८० असोज १७ बुधवार १४:३१