‘ए’ डिभिजन लिगमा आजदेखि छैठौं चरणका खेल सुरु हुँदै
वि.सं.२०७६ पुस २६ शनिवार ०९:१०
1.3K
shares
काठमाडौः सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजदेखि छैठौं चरणका खेल सुरु हुँदैछन् । छैठौं चरणको खेलको पहिलो दिन आज लिगमा २ खेल हुनेछन् । पहिलो खेलमा जावलाखेल युथ र मछिन्द्र क्लबबीच प्रतिश्पर्धा हुनेछ भने दोस्रो खेलमा साविकको विजेता मनाङ मस्र्याङदी र हिमालयन शेर्पा भिड्नेछन् ।
लिगमा अपाराजित मछिन्द्र र जावलाखेल दुबै टोली जित निकाल्दै अपाराजित यात्रा कायम गर्न चाहन्छन् । यद्यपि मछिन्द्र २ खेलमा मात्र बराबर खेलेको थियो भने जावलाखेलले ३ खेल बराबरी खेलेको थियो । यसैबीच मनाङ अपराजित यात्रा कायम गर्न चाहन्छ भने हिमालयन पहिलो जितको खोजीमा रहनेछ ।
त्यसैगरी आइतबार लिग अन्तर्गत छैठौं चरणका दुई खेल हुनेछन् । पहिलो खेलमा फेन्ड्स र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा ब्रीगेड बोइज र सरस्वती युथ क्लब भिडनेछन् । त्यस्तै सोमबार हुने २ खेलमा न्युरोड टीम एनआरटी र नेपाल पुलिस तथा च्यासल युथ र एपीएफ क्लबबीच खेल हुनेछ । छैठौं चरणको खेलको अन्तिम दिन मंगलबार संकटा र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पाचौं चरणको खेल सकिंदासम्म विभागीय टोली त्रिभुवन आर्मी ५ खेलमा ४ जित र १ हार व्यहोर्दै १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा अपारजित दुइ टोली मनाङ मस्याङदी र मछिन्द्र क्रमश: ११ र १० अंकसहित छन् । यस्तै चौथोमा थ्रीस्टार, पाँचौंमा जावालाखेल युथ, छैठौंमा नेपाल पुलिस, सातौंमा संकटा र आठौंमा ब्रिगेड बोइज रहेका छन् । च्यासल युथ दशौं, एपीएफ एघारौं र हिमालयन शेर्पा बाह्रौं स्थानमा रहँदा फेन्डस् तेर्हौं तथा ५ वटै खेलमा पराजित सरस्वती लिगतालिकाको अन्तिममा छ ।
पाँचौं चरणको खेलमा मैदानमै झगडा गरेका मनाङ र मच्छिन्द्र क्लवका गरी ६ खेलाडी कारवाहीमा परेका छन् । एन्फाले मनाङका अशोक बराललाई ६ खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाएको छ भने मछिन्द्रका जगजित श्रेष्ठलाई ५ खेलमा तथा दिपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई समान २ खेलमा प्रतिबन्ध गरेको छ । खेलाडीले नगद १० हजार जरिवानासमेत व्यहोर्नु पर्ने एन्फाले जनाएको छ ।
वि.सं.२०७६ पुस २६ शनिवार ०९:१०


















