नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार
वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१
147
shares
काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल) मा नेपाली भलिबल इतिहासकै सर्वाधिक पुरस्कार राशि २० लाख रुपैयाँ घोषणा गरिएको छ । एनभिएलका प्रबन्ध निर्देशक अश्विन केडियाले बुधबार आयोजित पत्रकार सम्मेलनमा कुल ३२ लाख पुरस्कार राशी रहेको लिगको विजेताले २० लाख रुपैयाँ प्राप्त गर्ने जानकारी दिए ।
बाँकी १२ लाख रुपैयाँ भने दोस्रो तथा विधागत पुरस्कारमा खर्च गरिने तर अहिले नै रकम नतोकिएको बताए । उनले फ्रेन्चाइज टिमको लगानी गरेको आधारमा पनि पुरस्कार राशी कुल ३२ लाख राखिएको स्पष्ट पारे । नेपाली भलिबलमा यो पुरस्कार अहिलेसम्म कै सर्वाधिक ठूलो राशि हो । प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एनभिएलको मस्कट ‘डाँफे’ सार्वजनिक गरिएको थियो । नेपालको राष्ट्रिय खेल भलिबल हो भने राष्ट्रिय चरा डाँफेलाई मस्कट बनाइएको छ ।
यस्तै प्रतियोगिताको ‘थिम सङ’ पनि सार्वजनिक गरिएको थियो । थिम सङ अविन शाक्यले कम्पोज गरेका हुन् भने मस्कटको डिजाइन रोशन सुब्बाले गरेका हुन् । कनेक्टेड बाई एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वर्ल्ड लिंक, एजुकेसन पार्टनरमा डिएभी स्कुल, इन्स्योरेन्स पार्टनरमा हिमालयन लाइफ इन्स्योरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स-एज रहेको पत्रकार जानकारी दिइयो ।
लिगको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै उद्घाटन खेलमा टिकटबाट उठेको सबै रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिने आयोजक केडिया ग्रुपले जनाएको छ । उद्घाटन खेलको लागि ५ सय रुपैयाँ टिकट मुल्य तोकिएको छ । अन्य दिनको लागि भने एउटा खेलको ३ सय रुपैयाँ टिकट दर कायमा गरिएको छ । सिजनल टिकटको मुल्य ३ हजार रुपैयाँ राखिएको छ। सिजनल टिकट खरिद गर्नेले लिग चरणको सबै खेल हेर्न पाउनेछन् ।
भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने एनभिएलमा ६ टोलीको सहभागिता रहनेछ । सिंगल राउन्ड रोबिन लिग खेल्नेछन्। लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् ।
वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१



















