नेपालले आज कुवेतसँग प्रतिष्पर्धा गर्दै
वि.सं.२०८२ असोज २२ बुधवार ०७:४३
675
shares
काठमाडौं: टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले आज कुवेतसँग प्रतिष्पर्धा गर्दैछ ।
नेपालसहित ९ राष्ट्रले टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न लागेका हुन् । समूह ‘बी’मा रहेको नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो समूहमा नेपाल, कुवेतसँगै जापान रहेका छन् । नेपाल र कुवेतको भिडन्त आज राति ८:४५ बजे सुरु हुनेछ ।
नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ । नेपालले कुवेतसँगको भेटमा मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्दैछ । यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् ।
युएईमा वेस्ट इन्डिजसँगको सिरिज उचाल्दै ओमानमा भएका दुई अभ्यास खेल जितेको नेपाली टिम उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदैछ । अर्को वर्ष भारत र श्रीलङ्काल संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा २० देशको सहभागिता रहने छ । हालसम्म १७ देशले विश्वकप यात्रा पक्का गरिसकेका छन् ।
अब एसिया महादेशबाट तीन टोलीको टुङ्गो लाग्न बाँकी छ । सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा प्रवेश गर्ने छन् । सुपर सिक्सका शीर्ष तीन टोलीले सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकपमा स्थान बनाउने छन् ।
वि.सं.२०८२ असोज २२ बुधवार ०७:४३



















