नेपालले आज पहिलो खेल भारतसँग खेल्दै
वि.सं.२०८२ भदौ ४ बुधवार ०८:०२
1.5K
shares
काठमाडौं: दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१७ महिला च्याम्पियनसिप आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ । नेपालले पहिलो खेल भारतसँग खेल्न लागेको छ । खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।
प्रतियोगिताअघि मंगलबार आयोजित पत्रकार सम्मेलानमा नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले टोली प्रतियोगिताका लागि तयार रहेको बताएका छन् । ‘अघिल्लो संस्करण खेलेका खेलाडीको बाहुल्य छ । हामीले पोजिसन अनुसार खेलाडीको प्रदर्शनलाई निखारेका छौं । साफ च्याम्पियनसिपको मुख्य उद्धेश्य भनेको खेलाडी विकास पनि हो । यस्ता खालका प्रतियोगिताबाट खेलाडीले सिक्ने मौका पाइरहेका हुन्छन्, एक्सपोजर पाइरहेका हुन्छन्,’ प्रशिक्षक श्रेष्ठले भने,‘ हामीले राम्रो तयारी गरेका छौं । हाम्रो लक्ष्य भनेको उपाधि जित्नु नै हो । हामीले टेकनिकल र ट्याक्टिकल पक्षमा काम गरेका छौं । प्रतियोगिताका लागि हामी तयार छौं ।’ प्रशिक्षक श्रेष्ठले भारत बलियो टोली भए पनि नेपाल जित निकाल्न सक्षम रहेको बताए । १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान सहभागी छन्।
डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई/दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले आफ्नो दोस्रो खेलमा भदौ ६ गते भुटान र ८ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो राउण्डमा बंगलादेशसँग साउन ११ र भारतविरूद्ध १३ गते प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो अन्तिम खेलमा १५ गते घरेलु टोली भुटानको सानमा गर्नेछ । नेपालले सन् २०२२ मा यो प्रतियोगिता जितेको थियो ।
वि.सं.२०८२ भदौ ४ बुधवार ०८:०२




















