पुरुष विश्व टिमको सूचीमा परेनन् मेसी र रोनाल्डो
वि.सं.२०८१ मंसिर २५ मंगलवार १०:३८
1.1K
shares
एजेन्सीः ग्लोबल प्लेयर्स युनियन फिफप्रोले सोमबार आयोजना गरेको वर्षको पुरुष विश्व टिमको सूचीमा लिओनेल मेसी र क्रिस्टियानो रोनाल्डो टिममा अटाएका छैनन् ।
एमएलएस क्लब इन्टर मियामीबाट खेल्ने ३७ वर्षीय मेसी सन् २००६ पछि पहिलो पटक टिममा अटाउन असफल भएका हुन् । अर्जेन्टिनाको विश्वकप विजेता र कीर्तिमानी ८ पटकको बालोन डी’ओर विजेता मेसी १७ पटक छनोट भएर कीर्तिमान कायम गरेका थिए । रोनाल्डो १५ पटक छनोट भएका थिए भने पछिल्लो पटक उनी सन् २०२१ मा छनोट भएका थिए ।
यी दुईजनाको अनुपस्थितिले फुटबलमा नयाँ पुस्ताको दबदबा देखाएको छ । ३९ वर्षीय रोनाल्डो साउदी प्रो लिगमा अलनासरबाट खेल्दै आएका छन् । यस वर्षको टिम अफ द इयरमा कीर्तिमानी १५ पटकको च्याम्पियन्स लिग विजेता रियल मड्रिडका ६ र प्रिमियर लिगको हेभिवेट म्यानचेस्टर सिटीका चार खेलाडी परेका छन् । लिभरपुलका उत्कृष्टमध्ये भर्जिल भान डाइक अन्य खेलाडी छनोट भएका छन् ।
विश्व ११ का लागि ७० देशका व्यावसायिक खेलाडीले मतदान गरेका थिए । सिटीका एडर्सनले गोलकिपरको जिम्मेवारी पाएका छन् । रियलका डानी कार्भाजल र एन्टोनियो रुडिगरले भान डाइकसँग डिफेन्स लाइन सम्हालेका छन् । रियलका मिडफिल्डर जुड बेलिङ्घम र टोनी क्रुस, प्लेमेकर केभिन डी ब्रुइन र बालोन डी’ओर विजेता रोड्रीलाई सिटीबाट छनोट गरिएको छ । सिटीका स्ट्राइकर एर्लिङ हालान्डले केलियन एमबाप्पे र रियलका उनका साथी भिनिसियस जुनियरसँग मिलेर अट्याकिङमा आफ्नो स्थान बनाएका छन् ।
फिफप्रोले सन् २००५ देखि विश्वका व्यावसायिक फुटबलरलाई आफ्नो पुरुष टोली र सन् २०१५ देखि महिला टोली छनोटका लागि आमन्त्रण गर्दै आएको छ । यो एक मात्र विश्वव्यापी फुटबल पुरस्कार हो जुन खेलाडीहरूद्वारा विशेष रूपमा निर्णय गरिन्छ ।
वि.सं.२०८१ मंसिर २५ मंगलवार १०:३८




















